कोरोना संक्रमित युवतीसँगै जहाजमा आएका ताप्लेजुङका दुईजना क्वारेन्टाइनमा
ताप्लेजुङ : कोरोना संक्रमण पुष्टि भएकी युवतीसँगै कतारबाट जहाजमा आएका ताप्लेजुङका दुईजनालाई क्वारेण्टाइनमा राखिएको छ । उनीहरु गत चैत्र ४ गते युवती चढेको जहाजमा आएका १ सय ५८ जनामध्येका हुन् ।
कतारबाट आएका एकसहित परिवारका तीनजनालाई क्वारेण्टाइनमा राखिएको जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताए । ती युवा ताप्लेजुङ आएर परिवारसँग बसेका थिए । अर्का एकजनालाई भने मोरङको टाँडीस्थित क्वारेण्टाइनमा राखिएको छ । उनी ताप्लेजुङ नआइ मोरङमै बसेका थिए ।
उद्योग बाणिज्य संघको माथिल्लो तलामा २० शैयाको क्वारेण्टाइन र जिल्ला अस्पतालमा आइसोलेसन बनाइएको छ । क्वारेण्टाइनका लागि समितिले सदरमुकामको रेडक्रस र सुकेटारको पाथीभरा क्षेत्र विकास समितिको भवन हेरेको छ ।
ताप्लेजुङमा कोरोनाको संक्रमणबाट त्रसित हुनुपर्ने अवस्था नरहेको तर सावधानीभने कडाइका साथ गर्नुपर्नेमा मादेनको जोड रहेको छ ।