कोरोनाले नाटकघर बन्द

कोरोनाले नाटकघर बन्द

काठमाडौं : कुञ्ज थियटर थापागाउँमा अप्रिल १३ देखि १६ सम्म भरत नाट्यम प्रतियोगिता गर्ने कार्यक्रम राखिएको थियो। भारतको उडिसावाट आउने नाट्य समूहले यो प्रतियोगिता सञ्चालन गर्न नाटकघर अग्रिम बुकसमेत गरिएको थियो। तर अहिले विश्वभर फैलिएको कोरोना त्रासले गर्दा अर्को सूचना नआउन्जेलसम्म कार्यक्रम रद्द गरिएको छ।

थियटरका सञ्चालक कमल ढकालका अनुसार हरेक नाट्यकर्मी तथा दर्शकको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ख्याल गर्दे नाटकघर नै बन्द गरिएको हो। अहिलेको यो महामारीवाट बच्न सके कार्यक्रमहरू फेरि पनि सञ्चालन गर्न सकिने र सरकारको निर्णयको सम्मान गर्दै कार्यक्रम पर सारिएको हो।

यस्तै अनामनगरस्थित मण्डला थियटर पनि आइतवारदेखि पूर्णतया बन्द गरिएको छ। पहिलो चरणमा चैत महिनाभर मण्डलाको अफिस पनि सञ्चालन नहुने गरी नाटकका सबै कार्यक्रमहरू बन्द गरिएका छन्। यस्तै सर्वनाम थियटर र थियटर मल कीर्तिपुर पनि अघिल्लो सातादेखि नै बन्द भइसकेको छ। शैली थियटर रातोपुल पनि पूर्णतया बन्द अवस्थामा रहेको छ।

थियटर बन्द गर्दा कलाकार, दर्शक तथा नाटकघरलाई पनि व्यावसायिक तथा आर्थिक रूपमा असर पर्ने गर्छ। तर पनि कोरोना त्रासबाट बच्न सेल्फ क्वारेन्टाइनको जरुरत पर्ने हुदा रंगमञ्चका सम्पूर्ण काम पर सारिएको शैली थियटरका अध्यक्ष नवराज बुढाथोकीले बताए। उनका अनुसार शैली थियटरले कोरोना सचेतना भिडियो सार्वजनिक गर्ने तयारीमा छ।

शिल्पी थियटर पनि केही समयको लागि बन्द भइसकेको छ। नाटकघरमा रिहर्सल, वर्कसप र छलफल कार्यक्रम रोकिए पनि पुराना नाटक भने दर्शकले हेर्न पाउने भएका छन्। शिल्पीले आफ्ना दर्शकको चाहनालाई मध्यनजर गर्दे आफ्नो मञ्चमा पहिले देखाइएका नाटकलाई युट्युब मार्फत दर्शकसम्म पुर्‍याइरहेको छ। नाटक हेर्न अव नाटकघर धाइरहन नपर्ने व्यवस्था गर्न आफूहरूले नाटक युट्युबमा अपलोड गरेको थियटरका संस्थापक घिमिरे युवराजले जानकारी दिए।

शिल्पी थियटर स्थापना भएको १४ वर्ष भइसक्यो। यो बीचमा ३५ वटा नाटक मञ्चन भइसकेका छन्। थियटरको आधिकारिक युट्युब च्यानलमार्फत बाथटब, समाजका नाइके, सानो वृत्तमा कमिलाहरू, पाहुना घरकी साहुनीलगायतका नाटक अपलोड भइसकेका छन्।

यस्तै नेपाली संगीतको चर्चित ब्यान्ड हो नेपथ्य। यो ब्यान्डका सम्पूर्ण सांगीतिक कार्यक्रम एक महिनाका लागि बन्द गरिएको नेपथ्यका भोकलिस्ट तथा गायक अमृत गुरुङले बताए। उनले सामाजिक सञ्जालमा राखेको सन्देशमा भनिएको छ, ‘कोरोनाका कारण संसार ठप्प छ। विज्ञहरूले भौतिक र शारीरिक दूरी बढाउनु र अरूको सम्पर्कमा नआउन नै उपयुक्त उपाय भनेका छन्। नेपथ्य ब्यान्डले पनि आफ्ना सबै कार्यक्रमहरू स्थगन गरेका छौ। अत्यावश्यक सेवामा बाहेक तपाईं पनि केही दिन घरमै रहेको बेस।’

कोरोना त्रासकै कारण सरकारले सवै फिल्म हल बन्द गराएको छ। यो बीचमा फिल्म सुटिङ र डबिङका कार्यक्रम पनि स्थगित भएको छ। यसैबीच कलाकारहरूले कोरोनाविरुद्ध सबै एक हुन आग्रह गर्दैगीत तथा भिडियो सार्वजनिक गर्ने कार्य बढेको छ।

सविन राई, पशुपति शर्मा, मह जोडीलगायतका अन्य कलाकार, विश्वप्रकाश शर्मा, सन्ताषजंग खत्रीलगायतले कोरोनाविरुद्ध सचेतना गीत बजारमा ल्याएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.