लोमान्थाङका वडाअध्यक्षको घरमा क्वारेन्टाइन
जोमसोम : उपल्लो मुस्ताङको लोमान्थाङमा कोरोना हेल्थ डेस्क र क्वारेन्टाइन स्थापना भएको छ । लोमान्थाङ गाउँपालिका-५ का वडाअध्यक्ष नवाङ कुङ्गा लामाको पहलमा बुधबार हेल्थ डेस्क र क्वारेन्टाइन संञ्चालनमा ल्याइएको हो ।
लोमान्थाङमा क्वारेन्टाइन राख्न वडाअध्यक्ष लामाले आफ्नै निजी सुविधा सम्पन्न भवन निःशुल्क उपलब्ध गराएको जानकारी दिए । उनका अनुसार वडाअध्यक्ष लामाले उपलब्ध गराएको क्वारेन्टाइन भवनमा १० कोठा छन् भने भवनमा महिला र पुरुष दुबैका लागि उपयुक्त शौचालय छ ।
क्वारेन्टाइन भवनलाई चाहिने आवश्यक पूर्वाधारका साथै बेडसमेतको व्यवस्था मिलाइएको उनले बताए । क्वारेन्टाइन बनाइएको भवन यसअघि लामाले आमजी राखेर अस्पताल बनाउने योजना बनाएका थिए ।
उनले कोरोनो भाइरसको विसम परिस्थितिमा सहयोग र सहकार्य महत्वपूर्ण भएकाले क्वारेन्टाइन राख्न दिएको उल्लेख गरे । कोरोना आशंका गरिएका व्यक्ति र जिल्ला बाहिरबाट आउने व्यक्तिलाई क्वारेन्टाइनमा राखेर कोरोना स्वास्थ्य निगरानी गरिने जनाए ।
वडाअध्यक्ष लामाले क्वारेन्टाइनमा राखिने व्यक्तिलाई खाना÷बस्न व्यवस्था गाउँपालिकाले मिलाउने जानकारी दिए। बर्सेनि हिउँदयामको जाडो छल्न बेसी झरेका र सहर बजारबाट कोरोना त्रासले गाउँ फर्किएकाको स्वास्थ्य परीक्षण तथा क्वारेन्टाइन अनिवार्य भएको उनले बताए ।
कोरोना संक्रमण विश्वभर उत्कर्षमा पुगेकाले उच्च सर्तकता अपनाउन दुवै सेवा सुरुआत गरेको लामाको भनाई छ । यस्तै ,कोरोना -कोभिड-१९ संक्रमण तथा रोकथामलाई मध्यनजर गर्दै लोमान्थाङमा हेल्थ डेस्क स्थापना गरिएको हो ।
छिमेकी देश चीनसँग सिमाना जोडिएकाले पनि लोमान्थाङमा कोरोना रोकथाम तथा न्युनिकरण गर्न आवश्यक देखिन्छ । वडाअध्यक्ष लामाकै सक्रियतामा लोमान्थाङका स्वास्थ्य चौकीका इञ्चार्ज तेन्जिङ नर्वु गुरुङको संयोजकत्वमा एक हेल्थ डेस्क टिम गठन भएको हो ।
हेल्थ डेस्कमा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप लोमाथाङ ,नेपाली सेना र सीमा प्रहरी चौकीका कर्मचारीले समन्वय गरेको इञ्चार्ज तेन्जिङ नर्वु गुरुङले जानकारी दिए । हेल्थ डेस्कका लागि थर्मल गन वडाअध्यक्ष लामाले उपलब्ध गराएको उनले बताए ।हेल्थ डेस्कका लागि चाहिने औषधि पालिकाले उपलब्ध गराएको छ ।
कोरोना भाईरसकै कारण सरकारले उपल्लो मुस्ताङमा विदेशी पर्यटकलाई रोक लगाईसकेको थियो । उपल्लो मुस्ताङकै स्थानीय गाउँ फर्किने क्रम बढेकाले पालिकाले कोरोनाको सर्तकता अपनाएको हो।
उपल्लो मुस्ताङको प्रमुख पर्यटकीय सहर लोमान्थाङ भएको र मुलुक पुरै लक डाउन भइसकेकाले त्यहाँका मुखियाले कटुवालाई घोक हाल्न लगाएर सर्वसाधरणलाई घरभित्र बस्न उर्दि जारी गरिएको जनाइएको छ।यता पालिकाले सर्वसाधरणलाई अनिवार्य मास्क प्रयोग सुझाएको छ।