४९ जना सेना क्वारेन्टाइनमा
जाजरकोट : जाजरकोटस्थित नेपाली सेनाको ज्वाला दल गणले जिल्लामा हालै भित्रिएका ४९ जना सैनिकलाई आफैले निर्माण गरेको ब्यारेक भित्रको क्वारेन्टाइनमा राखेको छ । जिल्ला सदरमुकामस्थित ज्वालादल गण मालिका व्यारेकमा तालिम, विभिन्न कार्यक्रम, घरबिदा र सरुवा भइ जिल्लामा आएका ४९ जना सैनिकलाई व्यारेकभित्रै निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको ज्वालादलगणका गणपति प्रमुख सेनानी सुरेन्द्रप्रताप रावलले बताए । संभावित महामारी विरुद्ध हाई अलर्ट अवस्थामा रहन बिदा, काज तथा तालिममा रहेका सबै सैनिकलाई ब्यारेक बोलाइएको उनको भनाई छ ।
उनले कोरोना भाइरसको संक्रमणप्रति उच्च सचेतता अपनाउन र आफ्नो सुरक्षा आफै गर्ने उपाय अपनाउँदै जिल्ला बाहिरबाट आएका सेनालाई १४ दिनको क्वारेन्टाइमा बस्न लगाएर स्वस्थ्य देखिए मात्र अन्य सेनाको सम्पर्कमा लगिने बताए ।' हाम्रो सानो गल्ती र वेवास्ताले पनि ठूलो क्षति हुन सक्छ । सबैले इमान्दारीतापूर्वक सचेतता अपनाउने र सरकारको आदेश पालना गरेमा संभावित क्षतिबाट बच्न सकिने,' उनले बताए ।
कोही पनि नागरिकले कोरोनाको संक्रमणलाइ वेवास्ता गर्ने र सर्तकता अपनाउन कन्जुस्याइ गर्न नहुने गणपति रावलले बताए । प्रमुख सेनानी रावलले भने, 'जिल्लामा आइपर्न सक्ने खतरा र आपतलाई मध्यनजर गरी सेनाको व्यारेकभित्रै आफूहरुले केही क्वारेन्टाइन बनाएका छौं। आवश्यक परेको बेला संकास्पद या संक्रमितलाई क्वारेन्टाइनमा राखेर सहयोग गर्छौं।'
जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका हेल्प डेस्क र अन्य चेतनामुलक गतिविधिमा सेनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागिता जनाउने र सहयोग गर्ने काम गरिरहेको छ ।
जिल्लामा कोरोना भाइरसको सक्रमण रोक्नका लागि आफूहरुले उच्च सतर्कता अपनाएर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले वताए । उनले भारत र अन्य स्थानाबाट जिल्ला भित्रिनेको स्वास्थ्य जाँच तथा शंकास्पदलाई क्वारेन्टाइनमा राख्ने देखि अन्य सुरक्षाका उपाय अपनाउने काममा जिल्लाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय सरकार र अन्य सरोकारवालाले सक्रियतापूर्वक काम गरिरहेको बताए।