कोरोना भाइरस : दोलखामा चरम लापरवाही, बाहिरबाट आएकालाई क्वारेन्टाइनमा पठाएन
दोलखा : पछिल्लो ५ दिनमा दोलखामा भारत, बंगलादेशलगायतका मुलुकबाट करिब ३ सय जना भित्रिएको भएपनि कोही पनि छुट्टै क्वारेन्टाइनमा बसेको पाइएको छैन । प्रशासनको बेवास्ता र स्थानीय सरकारको लापरवाहीको कारण ती नागरिकलाई छुट्टै क्वारेन्टाइनमा राखिएको छैन । तर बिरामी भएर आएकाको लागि भने दोलखाका विभिन्न स्थानीय तहमा ५९ बेडको आइसोलेसन तयार गरिएको छ ।
जिल्लामा फैलन सक्ने कोरोना भाइरसबाट सम्भाव्य संक्रमितको उपचारका लागि उक्त संख्यामा आइसोलेसन बेड तयार गरिएको जनप्रतिनिधिको तर्क छ । ९ स्थानीय तह रहेको दोलखा जिल्लामा ८ स्थानीय तहले ५९ आइसोलेसन बेड तयारी अवस्थामा राखेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताए ।
झाकाअनुसार मेलुङ गाउँपालिकाबाहेक अन्य स्थानीय तहले आइसोलेसन बेड तयार गरेका छन् । आइसोलेसन बेड तयार गर्नेमा भीमेश्वर नगरपालिकाले ८ तथा नगरपालिका भित्र रहेका निजी क्षेत्रबाट सञ्चालित च्छोरोल्पा जनरल अस्पतालले ६, गौरीशंकर जनरल अस्पतालले ५ बेडको आइसोलेसन कक्ष तयार गरेका छन् ।
यसैगरी विगू गाउँपालिकाले १०, शैलुङ गाउँपालिकाले ७, गौरीशंकर गाउँपालिकाले ६ तामाकोशी गाउँपालिका तथा कालिञ्चोक गाउँपालिकाले ५-५ बेडको आइसोलेसन कक्ष तयार गरेका छन् ।
यसैगरी जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकाले २-२ बेड क्षमताको आइसोलेसन कक्ष तयार गरेको प्रमुख झाले बताए । हालसम्म आइसोलेसन बेड तयार नभएको मेलुङ गाउँपालिकामा पनि आइसोलेसन कक्ष तयार गर्ने क्रममा रहेको मेलुङ गाउँपालिकाका प्रबक्ता हिरा थोकरले बताए ।
जिल्ला सदरमुकाम चरिकोटमा आम नागरिकबाट लकडाउनको पालना भइरहेको छ । तर ग्रामीण क्षेत्रमा भने लकडाउनको प्रभाव खासै पर्न सकेको छैन ।