मुस्ताङको छैरो तिब्बतीयन क्याम्पमा कोरोना परीक्षण
जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिका १ छैरो तिब्बतीयन क्याम्पमा बिहीबार कोरोना परीक्षण भएको छ ।विगत साढे ४ दशक अघिदेखि छैरो गाउँमा शरणार्थीको रुपमा बस्दै आएका उनीहरुलाई जिल्लामा खटिएको हेल्थ डेस्क टोलीले कोरोना भाइरसको परीक्षण गराएको हो ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङको पहलमा जिल्ला स्वास्थ्य कार्यालय ,जिल्ला अस्पताल र जिल्लास्थित सुरक्षा निकाय प्रमुख लगायतको रोहबर खटिएका स्वास्थ्यकर्मीले कोरोना भाइरस संक्रमण भए नभएको स्वास्थ्य परीक्षण गरेको मुस्ताङका सिडिओ वेदप्रकास अर्यालले जानकारी दिए ।
उनका अनुसार कोरोना स्वास्थ्य परीक्षणका क्रममा शरणार्थीलाई कोरोना भाइरसबारे जानकारी दिइनुका साथै हालै विदेशबाट आएकाको तथ्याङक संकलन गर्ने कार्य भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतबाट खम्पा बिद्रोह गरी मुस्ताङ प्रवेश गरेका उनीहरु २०३१ सालदेखि छैरोमा शरणार्थीको रुपमा बस्दै आएका हुन् ।
छैरोमा तिब्बतीयन शरणार्थीको ५० घरधुरी छ । जिल्ला हेल्थ डेस्क टोलीले क्याम्पका ८१ जना शरणार्थीको कोरोना स्वास्थ्य परीक्षण गरेको सिडिओ अर्यालले बताए । यस्तै, कोरोना स्वास्थ्य परीक्षणका क्रममा भारतको देहरादुनबाट आएका ३ जना शरणार्थीको पनि स्वास्थ्य परीक्षण गरिएको थियो ।
भारतबाट आउनेमा २ जना १ हप्ता र अर्को १ जना १२ दिन भएकाले उनीहरुलाई घरभित्रै होम क्वारेन्टाइनमा बस्न लगाइएको छ । उनी आउँदा भारतबाट कोरोना संक्रमण लिएर आएको हुनसक्ने आशंका हेल्थ डेस्कले होम क्वारेन्टाइनमा बस्न लगाएको सिडिओ अर्यालले उल्लेख गरे ।