भारतबाट आएकाहरु बसेनन् क्वारेन्टाइनमा, जीवन रक्षाको माग गदै कुल देउतालाई बली
जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिकामा कोरोना भाइरसबाट बचाइ दिनु भन्दै कुल देवतालाई बली चढाउन थालिएको छ । आ-आफ्ना कुल देवतालाई महामारीबाट आफू र परिवारका सदस्यलाई जोगाइ दिन भन्दै बली चढाइएको हो।
गाउँपालिका अध्यक्ष महेन्द्र शाहले भने, 'तीन दिन यता गाउँपालिका भित्रका विभिन्न गाउँमा १५ बढी बोकाकोबली चढाइएको छ । कतिपय गाउँले मिलेर बली चढाएका छन् भने कतिपयले व्यक्तिगतरुपमा बली चढाएका छन्।
देवी देवताप्रति र भगवानप्रतिको विश्वासले गर्दा नै यसो गरिएको हो । यसले सबैको आत्मविश्वास र मनोबल बढाउँछ अध्यक्ष शाहको भनाई छ । सरकारी अस्पताल नाम मात्रका छन् । जहाँ न स्वास्थ्यकर्मी छन् न त आवश्यक उपकरण र औषधि नै छ । संक्रमण फैलिहाले सबै भगवान भरोसामा छन् । स्वास्थ्यकर्मीसँग व्यक्तिगत सुरक्षाका सामग्री समेत नहुँदा चेकजाँच समेत गर्न समस्या भइरहेको उनीहरुको भनाइ छ ।
स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री नहुँदा स्वास्थ्य सेवा कार्यालयले सूचना जारी गरी अत्यावश्यक बाहेक अस्पताल नआउनु भनेको छ । जाजरकोटमा अझै पनि देवीदेउता र धामीझाँक्रीमा विश्वास गर्ने ठूलो जमात छ।कोरोनाको महामारी गाउँमा आउन नदिन बली चढाएको बारेकोट गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष द्धारीका बुढाले बताए ।
भारतमा कोरोना भाइरसको जोखिम बढेपछि मजदुरीका लागि गएकाहरु धमाधम घर फर्किएका छन् । कतिपय चेकजाँच नगरेर चोरबाटोबाट घर पुगेका छन् । तर उनीहरु आफूलाई केही नभएको भन्दै निर्वाध घरपरिवार र साथीभाइसँग घुलमिल गरिरहेका छन् ।
संक्रमण भएपनि तत्काल लक्ष्यण नदेखिदा जोखिम बढ्ने स्वास्थ्यकर्मीको भनाई छ । अहिलेसम्म भारतबाट कति मानिस फर्किए भन्ने कसैले तथ्यांक राखेका छैनन् । लकडाउन र होम क्वारेन्टाइन पूर्णरुपमा पालन भएको देखिदैन भेरी नगरपालिका १३ कुदुका बासुदेव शर्माले भने,' मानिसले यस रोगलाई गम्भीर रुपमा लिएका छैनन् ।' ठूलो संख्यामा भारतबाट मजदुरी फर्के पनि आवश्यक पहल र सचेतना नअपनाउँदा उनीहरु क्वारेन्टाइनमा राखिएको छैन ।