मुस्ताङमा ६३ पर्यटक अलपत्र
जोमसोम : विश्वभरी महामारीका रुपमा देखा परेको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले गरेको लक डाउनले राउण्ड अन्नपूर्ण पदयात्री समस्यामा परेका छन् ।
सरकारले दैनिक अतिआवश्यकीय सेवा बाहेक सबै निकाय ठप्प भएपछि राउण्ड गर्ने पदयात्री पर्यटक अलपत्र परेका हुन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठन भएको कोरोनो भाइरस नियन्त्रण उच्चस्तरीय समितिले गत सोमबारदेखि मुलुक पुरै लक डाउन छ।
मुलुक लक डाउनपछि राउण्ड अन्नपूर्ण पदयात्रा गर्दै मुस्ताङ आउने पर्यटकको संख्या १ सय ८१ जना पुगेको छ । जसमध्ये सम्बन्धित दूतावासको अनुरोधपत्रका आधारमा १ सय १८ जना तेश्रो मुलुकका विदेशी पर्यटकलाई जोमसोमबाट उद्दार गरी पोखरा र काठमान्डौ लगायतमा पठाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
पठाइएका यात्रु आजै कतार एयरवेजको जहाज मार्फत संम्वन्धित देशमा फर्किएका छन् । स्थानीय प्रशासनले १ सय १८ जना पर्यटकलाई बसमा चढाएर पोखरा- काठमाडौं पठाए पनि बिहीबार राउण्ड अन्नपूर्ण पदमार्गहुँदै आउने थप ६३ पर्यटक मुस्ताङमै रहेको मुस्ताङका सिडिओ वेदप्रकास अर्यालले जानकारी दिए ।
उनका अनुसार मुक्तिनाथमा २४ ,जोमसोममा २० र अन्य लेते,घासा,मार्फा र टुकुचे लगायतका स्थानमा बसेका छन् ।लक डाउनले मुस्ताङबाट फर्कन सकस परेका पर्यटकमा जर्मनीका १५ जना,अमेरीकाका ९ जना,क्यानाडाका ६ जना , युकेका ४ जना,फ्रान्स ,आयरल्याण्डका ,पोल्याण्ड र स्वीडेनका समान ३ जना ,अर्जेन्टिना,अस्ट्रेलिया र ईटालीका समान २ र विभिन्न १२ देशका समान १२ पर्यटक छन् ।
बिहीबार राउण्ड गर्दै २२ देशका ६३ पर्यटक मुस्ताङ आएको मुक्तिनाथ एक्याप चेक पोस्टले जनाएको छ । एक्याप चेक पोस्टका पर्यटन सहायक प्रेम बस्नेतले शुक्रबार राउण्ड गर्ने पर्यटक शून्य रहेको जानकारी दिए । उनले मुक्तिनाथमा रहेका २४ पर्यटक मध्ये १८ जना जोमसोम झरेको र अहिले मुक्तिनाथमा ६ जना पर्यटक मात्र रहेको उल्लेख गरे ।
पछिल्लो लटमा मुस्ताङ झरेका पर्यटकले मुस्ताङ छाड्न नचाहेको पाइएको छ । तेश्रो मुलुकमा कोरोनाको महामारी फैलिएकाले उनीहरु मुस्ताङमै बस्न चाहेको एक पर्यटन व्यवसायीले अन्नपूर्णलाई जानकारी दिए । जिल्ला प्रशासन कार्यालय मुस्ताङले संम्वन्धित दुताबासले संम्वन्धित देश फर्कन विमानको व्यवस्था नगरेसम्म पर्यटक पठाउन समस्या पर्ने जनाएको छ ।
मुस्ताङमा अलपत्र परेका कतिपय पर्यटकले दुताबासको संम्पर्क गर्ने प्रयास गरेका छन् भने कतिपय पर्यटक सुनसान स्थानमा भुमिगत बस्न रुचाएको जनाइएको छ ।