कोरोनाभन्दा भोकको डर

कोरोनाभन्दा भोकको डर

मकवानपुर : मजदुरी गर्दै आएका मंगलसिं चेपाङ घर फर्किएको १० दिन बितेको छ । कोरोना संक्रमण रोक्न सरकारले देश नै लकडाउन गरेपछि घर फर्किएका उनलाई काममा फर्कन हतारो छ ।

मकवानपुरको राक्सिराङस्थित राजाराङमा आफ्नो घरको बुइँकल हेर्दा उनको मन चस्किन्छ । घर फर्कंदा ल्याएको सामल (खानेकुरा) सकिँदै गएको छ । ‘मजदुरी गर्न जान पाइँदैन, जंगल र खोला जान पनि पाइँदैन’, मंगलसिंले भने, ‘हामीलाई कोरोनाले भन्दा पहिले भोकले चाहिँ मार्लाजस्तो भइसक्यो ।

६५ वर्षीया फूलमाया चेपाङ दमको रोगी छिन् । चारैतिरबाट हावा छिर्ने खुला झुप्रो घरमा बस्दै आएकी उनले पनि देसान (रोगब्यादी चलेको) हल्ला सुनेकी छन् । ‘कतै निस्कनुहुन्न भनेको छ, अब घरमा मात्र सबै जना बसेर खान आउँदैन’, फूलमायाले भनिन्, ‘हामीलाई त घरमै बसिरहनुप¥यो भने त देसानले भन्दा पनि अनिकालले चाहिँ लैजालाजस्तो भा’छ ।’

सेपिलो भीरमा बस्दै आएका यहाँका २६ परिवारका ८ जना घर फर्किएका छन् । उनीहरू मजदुरी गर्न गाउँबाहिर गएका थिए । ‘अब यहाँ बसेर खोरिया खन्द छ महिना पनि खान पुग्दैन’, फूलमायाले भनिन्, ‘अब यस्तो रोगले गर्दा हामीलाई झन् समस्या बनाएको छ ।’ यहाँका अधिकांश परिवारमा खानेकुराको अभाव छ । कोरोना संक्रमण रोक्न अपनाउनुपर्ने सावधानीबारे पनि प्रायः अनभिज्ञ छन् ।

बजार बन्द हुँदा पैसा हुनेहरूले पनि खाद्यान्न किनेर ल्याउन सकेका छैनन् । ‘सरकारलाई भनेर पनि के गर्ने, कति जनालाई गर्ने । यो सिजन नै अनिकालको होे’, बागमती प्रदेशसभा सदस्य सन्तकुमार चेपाङले भने, ‘धेरैको घरमा खानेकुरा सकिँदै गएको छ, कमाउन जान पाएको छैन, पैसा हुनेले पनि किन्न पाएका छैनन् ।’ विपन्न चेपाङ बस्तीमा सहुलियत दरमा खाद्यसामग्री उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।

चेपाङ बाहुल्य रहेको राक्सिराङ गाउँपालिकाले कोरोना संक्रमणको त्रास बढेपछि २५ लाख रुपैयाँको विपद् कोष निर्माण गरेको छ । गाउँपालिकाले कोरोना संक्रमण देखिए त्यस्ता बिरामीलाई स्वास्थ्य केन्द्रसम्म लैजान ५ हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ । ‘बिरामी भयो भने गाउँमै धामीको भरमा बस्ने धेरै छन्, त्यसैले उनीहरूलाई तत्कालै स्वास्थ्य केन्द्र पु¥याउन यो निर्णय गरेका हौं’, गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने, ‘तर मजदुरी गर्न जान नपाउने धेरै चेपाङ परिवारमा खानेकुरा अभाव हुँदै गएको छ, संघीय सरकार र मनकारीहरूले उनीहरूको दैनिकी सहज बनाउन पनि सहयोग गरिदेओस् भन्ने अपेक्षा गरेका छौं ।’ मकवानपुरको राक्सिराङसँगै, कैलाश र मनहरी गाउँपालिकामा चेपाङ समुदायको बसोवास छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.