वारागुङ मुक्तिक्षेत्रको भोट भाषामा कोरोना सन्देश
जोमसोम : विश्वव्यापी माहामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका सक्रियताका साथ लागेको छ । पालिकाले सोमबारदेखि नेपाली तथा स्थानीय मातृभाषा अर्थात भोट भाषामा कोरोना सम्वन्धि जनचेतनामूलक कार्यक्रम अघि बढाएको छ ।
पालिकाले स्थानीयबासीलाई नेपाली तथा मातृभाषा दुबैको अनुकुल हुने गरी अडियो प्रचार-प्रसार अभियानलाई तीव्रता दिएको अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ (धारा)ले जानकारी दिए । उनका अनुसार स्थानीय गुरुङ भाषालार्ई ङज्याप भाषा पनि भन्ने गरिन्छ । विश्वलाई आतंकित पारेको नोवल कोरोना भाइरस फैलिन नपाओस् भन्ने उद्देश्यले सरकारका तर्फबाट गठित समितिको निर्णय अक्षरस कार्यान्वयन गर्न स्थानीय सरकार लागि परेको अध्यक्ष गुरुङले बताए ।
सोमबारदेखि पालिकाका जनप्रतिनिधि तथा कर्मचारीले वारागुङ मुक्तिक्षेत्रका गाउँगाउँमा कोरोना सम्वन्धित अडियो बनाउँदै सर्वसाधारणलाई सचेत गराउने काम गरेको पालिकाका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिए । उनले कोरोना नियन्त्रण गर्न पालिका र स्थानीयले समन्वय गरी अघि बढेको उल्लेख गरे ।
पालिकाले देश विदेशमा रहेका मुस्ताङबासीलाई गाउँ नफर्की यथास्थानमा रहन अनुरोध गरेको सूचना अधिकारी सूर्य तिमिल्सिनाले अन्नपूर्णलाई बताए । उनका अनुसार जिल्लाबाहिर रहेका पालिकाबासीलाई गाउँ फर्कने परे अनिवार्य १४ दिन पालिकाले खडा गरेको क्वारेन्टाइनमा बस्नपर्ने समेत जानकारी गराएको छ । पालिकाले अडियो टेपमार्फत लक डाउनको पूर्ण रुपमा कार्यान्वयन गर्न ,अति आवश्यक सेवाबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । यस्तै , पालिकाले हुलहुज्जत नगर्न र सामाजिक दुरी कायम गर्न भनेको छ । रुखा लाग्दा ,ज्वरो आउँदा, स्वाश प्रश्वासमा समस्या देखिए तुरुन्तै स्वास्थ्य चौकीलाई खबर गर्नसमेत पालिकाले सुझाएको छ ।