विदेशबाट आउनेको तथ्यांक बटुल्दै ललितपुर
ललितपुर : कोभिड-१९ कोरोना संक्रमण फैलिन नदिनका लागि ललितपुरले विदेशबाट आउनेहरुको तथ्यांक संकलन गर्न थालेको छ। स्वास्थ कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार यतिबेला ललितपुरका सम्पुर्ण पालिकाहरुलाई तथ्यांक संकलन गर्न सुझाव दिइएको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पुर्ण वडाहरुमा वडाअध्यक्षहरुलाइ जानकारी तथा निगरानी राख्न लगाएको बताए। उनका अनुसार हालसालै खोकनामा दुई, तीन जना बिदेश बाट भर्खरै आएको जानकारीमा आएको बताए। 'यस बिषयमा चनाखो वडासदस्यहरुलाई सुझाएको छु' उनले भने 'चाडैँ नै आधिकारिक विवरण आउँछ।'
त्यस्तै महालक्ष्मी नगरपालिकाले करिब साता दिन पहिलादेखि नै विदेशबाट आएकाहरुको विवरण खोजिरहेको मेयर रामेश्वर श्रेष्ठले जनाए।उनका अनुसार केहि अलि पहिला आएकाहरु पनि छन्। महालक्ष्मीमा साउदी अरब, जापान, बंगलादेशलगायतका मुलुकबाट आएका कम्तीमा २० देखि २५ जना देखिएका छन्। उनीहरुलाई परिवारबाट छुट्टै दुरी बनाएर बस्न सुझाएको बताए। महालक्ष्मीले किस्ट अस्पतालसँग मिलेर उनीहरुलाई क्यारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ। हाललाई एक करोड रुपैयाँ छुट्याएर प्राथमिक चरणको काम गरिरहेको छ।
त्यसैगरी गोदावरी नगरपालिकामा हिजोसम्म ३५ जना नागरिक भर्खरै विदेशबाट आएको देखिएको मेयर गजेन्द्र महर्जनले बताए। सबलाई निगरानीमा राख्दै क्वारेन्टाइनमा बस्न सुझाएको बताए। गोदावरी नगरपालिकाले १४ वटै वडामा दुइ लाखको दरले रकम विनियोजन गरेर सहयोग गरिरहेको छ। विदेशबाट आएकालाई हेलाको नजरले हेर्नू भन्दा सहयोग गर्नुपर्ने बताए। गोदावरीमा केही दिन पहिला जर्मनीबाट आएका एक युवालाई घरमा बस्न नदिने भन्दै स्थानीयले विरोध गरेको पीडीत परिवारले बताए। टेकुमा परीक्षण गर्दा कुनै लक्षण नदेखिएपछि उनलाई घरैमा क्वारेन्टाइनमा बस्न सुझाएका थिए। तर परिवारलाइ अनावश्यक रुपमा तनाव दिइरहेको गुनासो पीडितको छ।
दक्षिण ललितपुरको बागमती गाउँपालिकामा दुई चार जना विदेशबाट आएको देखिएको अध्यक्ष वीर बहादुर लोप्चनले जानकारी दिए। अन्य पालिकाको विवरण आउँदै गरेको स्वास्थ कार्यालयले जानकारी दिएको छ।