कोरोना नियन्त्रण : भेरीमा ५६ प्रतिकार कार्यदल, ३२७ जनशक्ति परिचालन
जाजरकोट : महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड -१९) नियन्त्रणका लागि भेरी नगरपालिकाले नगरभित्रका ५६ टोलमा टोलस्तरीय छरितो प्रतिकार कार्यदल गठन गरेको छ । भारतलगायतका मुलुकबाट मानिस जिल्लामा भित्रिरहेको र उनीहरुबाट कोरोना भाइरसको जोखिम बढ्ने भन्दै सचेतनाका लागि टोल टोलमा प्रतिकार कार्यदल गठन गरिएको हो ।
आइतबार बसेको नगर कार्यपालिकाको बैठकले ५६वटा टोल स्तरीय छरितो प्रतिकार कार्यदल, १३ वटा वडास्तरीय सीघ्र व्यवस्थापन समूह र एउटा नगरस्तरीय तत्काल व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो ।
प्रत्येक टोलमा वडा सदस्यको नेतृत्वमा ५ सदस्यीय छरितो प्रतिकार कार्यदल गठन गरिएको छ । कार्यदलले प्रत्येक दिन गाउँ,टोलमा स्वदेश तथा विदेशबाट आएकालाई निगरानी गर्ने, होम क्वारेन्टाइनमा बस्न लगाउने र तथ्यांक संकलन गरी प्रहरी, स्थानीय प्रशासन र नगरपालिकामा पठाउने छ ।
कार्यदलमा शिक्षक, बुद्धिजीवी, टोलसुधार समिति र स्वास्थ्यकर्मीलाई समेटिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए । ५६ वटा कोरोना प्रतिकार कार्यदलमा दुई सय ८० जनालाई समेटिएको छ ।
त्यस्तै वडाध्यक्षको संयोजकत्वमा रहने सीघ्र व्यवस्थापन समूहमा वडा सचिव र कार्यालय सहयोगी सदस्यको रुपमा राखिएको छ । १३ वटा वडामा गरी ३९ जना जनशक्ति परिचालित छन् । त्यस्तै नगरप्रमुख चन्द्रप्रकाश घर्तीको संयोजकत्वको नगर स्तरीय तत्काल व्वस्थापन समितिमा नगर प्रवक्ता पार्वती विक, डा.भुपेन्द्रप्रकाश मल्ल, स्वास्थ्य शाखा प्रमुख निशा थापा, प्रहरी निरीक्षक महेशकुमार आचार्य, नगरपालिकाको सुचना प्रविधि अधिकृतलाई सदस्यको रुपमा र प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्ती सदस्य सचिव रहने गरी सात सदस्यीय समिति गठन गरिएको छ । एमआइएस अपरेटर शरोज वलीलाई तथ्यांक संकलनको फोकल व्यक्तिको रुपमा तोकिएको छ । नगरपालिकाले सबैगरी एकैपटक तीन सय २७ जना जना परिचालित गरिएको छ ।
कोरोना भाइरसको जोखिमबाट बच्न र बचाउन जनशक्ति परिचालित भएको नगरप्रमुख घर्तीले बताए । उनले भने,' वडामा नागरिकलाई केही समस्या परेका वडाध्यक्ष नेतृत्वको समूहले दैनिक उपभोग्य वस्तुलगायतको आपूर्तिमा सहजता ल्याउने छ । नगरप्रमुख नेतृत्वको व्यवस्थापन समितिले समग्र नगरभित्रको व्यवस्थापनलाई ध्यान दिने छ ।
नगरप्रमुख घर्तीले महामारी भित्रन नदिन सबै सचेत हुनुपर्ने र सरकारले दिएका निर्देशन पालन गरेर लकडाउन अनुसार घरमै बस्न नगरवासीलाई आग्रह गरे । भेरीमा भारत र अन्य मुलुकबाट हालै आएका ६० जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।