लकडाउनको साथी पुस्तक

लकडाउनको साथी पुस्तक

काठमाडौं : पुस्तकबारे विभिन्न दार्शनिक, विद्वानहरूका आआफ्नै अभिमत छन्। दार्शनिक एमर्सन भन्ने गर्थे, ‘पुस्तकको स्नेह ईश्वरको राज्यमा पुग्ने विमान हो।’ सिसेरोले भनेका छन्, ‘राम्रा पुस्तक घरमा संकलन गर्नु घरलाई देव मन्दिर बनाउनु हो।’ उता कर्लाइलले भनेका छन्, ‘जुन घरमा राम्रा पुस्तक छैनन्, त्यो जीवित मुर्दा बस्ने मसानघाट सरह हो।’

लकडाउनमा समय कटाउन धेरैलाई गाह्रो भएको छ। घरमा एकाबिहानै पत्रिका पनि पुग्दैन। यस्तोमा समय कटाउन धेरैलाई पुस्तक सर्वोत्तम साथी भएको छ। प्रायःले होम लाइब्रेरीको धुलो टक्टक्याइरहेका छन्। केही लेखकले विभिन्न पुस्तक पढ्न सिफारिस पनि गरिरहेका छन्। विडम्बना लकडाउनमा बेलुकी ६ बजेपछि मदिराका पसल खुलिरहेका छन् तर पुस्तक पसलका सटर बन्दका बन्द छन्।

अध्ययनमा रुचि हुनेहरूका लागि यो समय पुस्तक पढ्ने राम्रो अवसर त हुने नै भयो। उता कामको चापले व्यस्त भएर पुस्तक पल्टाउन नपाएकाहरूलाई राम्रो अवसर भएको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि यतिबेला पुस्तक अध्ययनमा व्यस्त छन्। उनले ट्विटरमा लेखेका छन्, ‘कोरोना सिर्जित गृहबन्दी अवस्थाको सदुपयोग गर्न र देशको आन्तरिक राष्ट्रियतासम्बन्धी ज्ञान गहिरो पार्न बालकृष्ण पोखरेलको झन्डै नौ सय पृष्ठको ‘खस जातिको इतिहास’ पढ्ने सुर कसियो।’

सहप्राध्यापक तथा लेखक टीकारामले उदासी सय मिटरको दूरीमा भएको साथीको घरमा आउजाउ गर्न पनि अहिले अनुपयुक्त भएकाले यी पुस्तक पढ्नोस् भनेर बजारमा खोज्न पठाउने अवस्था नरहेको बताए। त्यसैले, पुस्तक सिफारिस गर्नुभन्दा आफूले संकलन गरेका र आफूलाई मनपर्ने जुनसुकै पुस्तक पनि दोहोर्‍याउन आग्रह गर्छन् उनी।

शिवानीसिंह थारूले मोहन मैनालीको मान्ठा हराएको जुग, ओरहान पामुकको इस्तानबुल मेमोरिज एन्ड द सिटी, चाल्र्स डिकेन्सको गे्रट एक्सपेक्टेसन, विस्लावा सिम्बोर्स्काको कवितासंग्रह, नारायण वाग्लेको ‘कोरियाना कफी गफ’ पढ्न सिफारिस गरेकी छन्।

उता सञ्चारकर्मी तथा लेखक मोहन मैनाली भने महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्ध संग्रह’, बालकृष्ण समको ‘मेरो कविताको आराधना’, सर्वोच्च नेता गणेशमानको ‘मेरा कथाका पानाहरू’, गोविन्द वर्तमानको हरियो साइकल तथा ‘हाफ सेन्चुरी अफ डेभलपमेन्ट इन् नेपाल’ पुस्तक पढ्न सिफारिस गर्छन्। उनले कोरोनाबन्दी भएका बेला आफ्नो किताब ‘उपल्लो थलो’ पढ्न चाहनेलाई इमेलमा पीडीएफ पठाइदिने भएका छन्। उनले फेसबुकमा सूचना चुहाएका छन्, ‘अरूलाई कुनै पनि तरिकाले नबाँड्ने, कहीँ कतै अपलोड, सपलोड नगर्ने सर्तमा पहिलो संस्करणको पीडीएफ फाइल (१.६ एमबी) तपाईंलाई पठाउनेछु। कमेन्टमा मेल एड्रेस टाँसेर ‘किताब पठाई दे’ नभन्नुहोला।’

उता वरिष्ठ चलचित्रकर्मी नीर शाहले कुमार नगरकोटी तथा नयनराज पाण्डेका पुस्तकलाई समय दिने बताउँदै दुवै लेखकका चार पाँच पुस्तक सिरानीमा राखेका छन्।

पाटन संयुक्त क्याम्पसका सहप्राध्यापक धनप्रसाद सुवेदी २०५२ सालमा आफूले लेखेको ‘सानो स्वार्थ भयंकर अपराध’ उपन्यासको दोस्रो संस्करणको परिमार्जनमा व्यस्त छन्। चीनको कुन्मिङस्थित युनान मिन्चु विश्वविद्यालयका भिजिटिङ प्रोफेसरसमेत रहेका उनी बिदामा नेपाल आएपछि कोरोनाको लकडाउनले जान पाएका छैनन्। उनले भने, ‘मिन्चु विश्वविद्यालयको स्नातक तहको पाठ्यक्रमका लागि नेपाली साहित्यको प्रतिनिधि रचना बनाउन आफ्नै लाइबे्ररीमा भएका पुस्तक खोतलखातल पार्दैछु।’

काठमाडौंको साँघुरो डेरा बसाइमा पुस्तक राख्न समस्या हुने भएकाले मदन भण्डारी मेमोरियल क्याम्पसका सहप्राध्यापक यमबहादुर दुराले नयाँ पुस्तक किन्न छोडेका छन्। उनले भने,‘पहिले भटाभट किनियो तर गातासमेत उघार्न नभ्याएका पुस्तक पढ्दै छु।’ लकडाउनमा उनको रोजाइमा अहिले म्याक्सिम गोर्कीका सबै पुस्तक छिचोल्ने योजना छ। उता हेटौंडाका कवि साम्ब ढकाल अहिले आफ्नो आधा समय लेखपढमै बित्ने गरेको बताउँछन्। ‘पढ्नलाई पुस्तकै पल्टाउनुपर्छ भन्ने छैन, अहिले अनलाइनमा पनि राम्रा रचना पढ्न पाइन्छ। त्यसकै सदुपयोग गर्दैछु,’ उनले सुनाए।

विवेक सिर्जनशील प्रकाशनले पुस्तकको होम सेवा पनि उपलब्ध गराउने गरेको थियो तर लकडाउनमा होमसेवा दिन सम्भव नभएको प्रकाशनका प्रबन्ध निर्देशक विजयराज आचार्यले जानकारी दिए। लकडाउनको अवधि चैत २५ सम्म थपिएसँगै आचार्य आफूले १६ वटा यात्रा संस्मरणका पुस्तक पढेर सकाउने योजना बनाएका छन्। उनले ताना शर्माको बेलायततिर बरालिँदा पुस्तकबाट पठनको सुरुआत गरेको बताए।

सय मिटरको दूरीमा भएको साथीको घरमा आउजाउ गर्न पनि अहिलेको समय अनुपयुक्त छ। त्यसैले यो पुस्तक पढ्नोस् भनेर बजारमा खोज्न पठाउने अवस्था छैन। त्यसैले, पुस्तक सिफारिस गर्नुभन्दा आफूले संकलन गरेको र आफूलाई मनपर्ने जुनसुकै पुस्तक पनि दोहोर्‍याउँदा हुन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.