‘लकडाउन’मा किसानले बजारबासीलाई दिए निःशुल्क तरकारी
फिदिम : ‘गाउँ बाँचे सहर बाँच्ने र सहर बाँचे गाउँ बाँच्ने, ठहर गर्दै किसानले फिदिम बजारका मानिसलाई निःशुल्क रुपमा तरकारी उपलब्ध गराएका छन्। लकडाउनका कारण बजारबासीलाई तकारीको समस्या भएको भन्दै फिदिम नगरपालिका २ का किसानले निःशुल्क तरकारी उपलब्ध गराएका हुन्।
किसानले उपलब्ध गराएको तरकारी पाँचथर सदरमुकाम फिदिम बजारमा बुधबार जनप्रतिनिधिले वितरण गरे। कोरोना (कोभिड १९) भाइरस को संक्रमणले विश्व आक्रान्त बनेपछि सरकारले लकडाउनको घोषणा गरेको छ। ९ दिनदेखि लकडाउनमा परेका बजारबासीलाई किसानले निःशुल्क रुपमा तरकारी उपलब्ध गराएका हुन्।
‘बजारमा पनि हामीजस्तै मानिस बसेका छन्,’ तालखर्कका किसान नारायण पौडेलले भने, ‘बजारबासीको भोक मेटाउनु नै किसानको दायित्व ठानेर हामीले तरकारी उपलब्ध गराएका हौँ।’ फिदिम बजारमा १२ क्विन्टल भन्दा धेरै तरकारी वितरण गरिएको हो।
‘किसानहरुले तरकारी उपलब्ध गराउने इच्छा जाहेर गरेपछि हामीले समन्वय गरेर बजारबासीलाई वितरण गरेका हौँ,’ फिदिम २ का वडाध्यक्ष सुकपाल तुम्बापोले भने, ‘गाँउका किसान मनकारी छन्। बिपत्ति परेको बेला बजारबासीलाई गुन लगाएका छन्।’
तरकारीको पकेट क्षेत्र मानिएका किसानले बजारमा वितरण गरेका हुन्। झ्याउपोखरी, तालखर्क, डुम्रीबोट, बाँस्बोटे, साम्दीन, ठाडेलगायतका किसानले तरकारी उपलब्ध गराएका हुन्।
‘कोरोना भाइरसका कारण बजारमा ठूलो बिपत्ति आइलागेको महसुश गरेपछि सल्लाह गरेर तकारी उपलब्ध गराएका हौँ,’ पौडेलले भने, ‘हामीले हाम्रो बारीमा जे उत्पादन भएको छ, त्यो खुसीसाथ उपलब्ध गराएका हौँ।’
तकारी उत्पादक किसानको मत मिलेपछि उनीहरुले वडाध्यक्ष तुम्बापोलाई समन्वय गरिदिन आग्रह गरेका थिए। किसानको आग्रहपछि तुम्बापोले प्रहरी प्रशासन र बजारवासीसँग समन्वय गरेर तकारी वितरण गरेका हुन्।
आलु, कोपी, रायोसाग, धनिया, लसुन, प्याज, दाल, गुन्द्रुक सिन्कीलगायका तकारी वितरण गरिएको हो। बजारका एक चुह्लो बराबर एक जनालाई तकारी लिन आग्रह गरिएको छ। एकजना बराबर एक प्रकारको तरकारी उपलब्ध गराइएको फिदिम–२ का वडासदस्य नारायण बजगाईंले जानकारी दिए।