'लक डाउन'ले नछोएको जिन्दगी (फोटोफिचर )
जाजरकोट : विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट देशवासीलाई जोगाउन सरकारले 'लक डाउन' गरेको १० दिन बितिसक्यो । शहरी क्षेत्रका मानिस एकाध बाहेक घरभित्रै बसिरहेका छन् । तर जाजरकोटका ग्रामिण भेगका मानिस जो कृषि पेशामा आश्रित छन् तिनीहरुको दैनिकीमा खासै परिवर्तन आएको छैन ।
तरकारी गोडमेल गर्ने, गाईवस्तुको हेरचाह र उनीहरुको आहाराको जोहो गर्ने कामका लागि पनि घर बाहिर ननिस्केर धरै छैन गाउँलेलाई । सदरमुकाम आसपासका किसानले तरकारी र दूध सदरमुकाम लिएर बिक्री गर्न छोडेका छैनन् ।
डेरी र सदरमुकामवासीका घरमा दैनिक दूध पुर्याइरहेका छन्। तरकारी बेच्नेले पनि सदरमुकाम लिएर बेचिरहेका छन् । तर पहिलेको तुलनामा उनीहरु समूहमा भने हिँड्दैनन् । मास्क लगाउँछन् । त्रास उनीहरुमा पनि छ । भेरी नगरपालिका ४ का वडाध्यक्ष खम्बजंग शाहले भने, 'तर बाध्यता छ । पशुवस्तुलाई आहारा खोज्नका लागि पनि घरबाट निस्कनै पर्यो ।'
ग्रामिण भेगमा घाँस दाउरा काट्ने, गाईबाख्रा चराउन गोठालो जानेलगायतका कार्य जारी रहेको बारेकोट गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष द्धारीका बुढाले बताए ।' सबै मानिस त्रसित छन् तर सचेत पनि छन् । दैनिक नगरी नहुने काम पनि स्थानीयले गरिरहेकै छन्,' उनले भने ।
'सहरका मानिसलाई लकडाउनमा कसरी समय बिताउने भन्ने चिन्ता छ तर हामीलाई कहिलै काम पुग्दैन भेरी नगरपालिका २ कि निर्मला भण्डारीले भनिन्, 'केटाकेटीको हेरचाह, खानपीन, घाँसदाउरा, पानी पँधेरो, तरकारी गोडमेल, दूध र तरकारी बेच्न सदरमुकाम जाँदै ठिक्क हुन्छ । के को लकडाउन कामै पुग्दैन। आराम गर्ने फुर्सद पनि हुँदैन।'
उनीजस्तै अधिकांश किसानको दैनिकी यसरी नै बित्ने गरेको छ । उनीहरु भारतलगायतका अन्य मुलुकबाट जिल्लामा आएकासँग भने सचेत छन् । उनीहरुको सम्पर्कमा जाँदैनन् ।