कोरोना कहर : लुकिछिपी आएकालाई स्थानीयले घर पस्‍नै दिएन

कोरोना कहर : लुकिछिपी आएकालाई स्थानीयले घर पस्‍नै  दिएन

परासी : पश्चिम नवलपरासीका सीमा नाकाबाट अझै पनि भारतहुँदै नेपाल आउनेको संख्यामा कमि आउन सकेको छैन । कोरोना (कोभिड-१९) बाट सुरक्षित रहन लकडाउन गरेको ९ दिन बितिसक्दा पनि लुकिछिपी नाकाबाट नेपाल आउनेको संख्या घट्न नसकेको प्रहरीले जनाएको छ । 

तीन नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा सबै गाउँपालिका भारतसँग सीमाना जोडिएका छन् । यो जिल्ला भारतको उत्तर र बिहार प्रदेशसँग जोडिएको छ । सबैभन्दा बढी बिहारहुँदै आउनेको संख्या बढेको छ ।  

प्रहरीले गस्ती बढाए पनि रातको समयमा लुकिछिपी नेपाल आउने गरेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक प्रवक्ता विरेन्द्र थापाले बताए ।  प्रहरीले कडाई गरेपछि अहिले रातको समयमा खेत र साँघुरा बाटोको प्रयोग गरेर नेपाल प्रवेश गर्ने गरेको थापाले बताए । नेपाल प्रवेश गर्नेमा भारतमा काम गर्न गएका अधिकांश नेपाली कामदार छन् । एक दुईजना भारतीय पनि रहेका छन् ।  

विदेशबाट आएका वा कोरोनाको संक्रमणका लक्षण देखिएकालाई उपचारमा बस्नका लागि सबै पालिकाले क्वारेन्टाइन निर्माण गरेका छन् । अहिले क्वारेन्टाइनमा बस्नेको संख्या सीमासँग जोडिएका पालिकामा बढी छ । जिल्लामा २ सय २६ बेडका क्वारेन्टाइन निर्माण गरिएको छ । ८ ओटा आइसोलेसन छन् । सबै क्वारेन्टाइनमा बुधबारसम्म १ सय ३ जना उपचारका लागि बसेका छन् । 

सबैभन्दा बढी सुस्ता गाउँपालिकामा ३४ जना क्वारेन्टाइनमा छन् । ती सबै भारतबाट आएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए । उनले दैनिक २०देखि २५ जना सीमा क्षेत्रको खेत र अन्यबाटो भएर आउने गरेको बताए । 'प्रहरीको पनि उत्तिकै गस्ती छ । गाउँपालिकाले पनि क्लब र स्वयंसेवक खटाएर निगरानी बढाएको छ । तर रातको समयमा आउने गरेका छन् । यसले हामीलाई समस्यामा पारेको छ,' अध्यक्ष पाण्डेले भने । 

नाकाबाट लुकेर आउनेको संख्या नघटेपछि गाउँपालिकाले माइकिङ्ग गरेर त्यसरी आएका व्यक्तिबारे जानकारी दिर्न सर्वसाधारणलाई खबर गरिएको छ।' स्थानीयको सहयोग बिना सकिदैन त्यसैले अहिले गाउँलेले विदेशबाट आएका व्यक्तिबारे खबर गर्ने गरेका छन् । त्यसरी भारत वा अन्य देशबाट आएकालाई क्वारेन्टाइनमा लगेर राख्ने गरिएको छ,' पाण्डेले भने । 

स्थानीयले दिएनन् घर बस्न

भारतहुँदै घर आएका पश्चिम नवलपरासी रामग्राम नगरपालिका बञ्जरियाका ५ जना कामदारलाई स्थानीयले बाहिरै बसालेका छन् । उनीहरु भारतको आगराबाट नेपालगञ्जहुँदै मंगलबार राती घर आएका थिए । विदेशबाट आएकालाई क्वारेन्टाइनमा बस्न नगरपालिकाले सर्वसाधारणलाई अनुरोध गर्दै आएको छ । 'मंगलबार राती उनीहरु घर आएका रहेछन् । गाउँलेले घरभित्र पसे अन्य परिवारलाई पनि समस्या हुने भन्दै सुझाव दिएका रहेछन् । त्यसैले उनीहरु रातभर मन्दिरमा बसेका थिए । बिहान परासीस्थित क्वारेन्टाइनमा ल्याएर राखिएको छ,' रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले भने ।

घर परिवारले पनि सबैको स्वास्थ्यका लागि क्वारेन्टाइनमा जान सुझाव दिएका थिए । उनीहरु नेपालगञ्जबाट पैदल हिँडेर घर आएको स्थानीयले बताए ।'भारतबाट आएका सर्वसाधारण पनि सचेत रहेछन् । उनीहरु आफै क्वारेन्टाइनमा बस्ने बताएपछि आदर्श माविको क्वारेन्टाइनमा राखिएको छ,' नगरप्रमुख गुप्ताले भने । नगरपालिकाले सदरमुकाममा २५ शैयाको क्वारेन्टाइन निर्माण गरेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.