लकडाउन वृत्तान्तः रोग, भोक र शोक

लकडाउन वृत्तान्तः रोग, भोक र शोक

विभिन्न नाकाबाट लकडाउनअगाडि नै नेपाल प्रवेश गरेका मानिस  क्वारेन्टिनबाट विद्रोह गरेर घर हिँडे । एक त क्वारेन्टिनहरू मिडियालाई दृश्य उपलब्ध गराउन मात्र काम लाग्ने गरी बनाइएका छन् । व्यवस्थापन गतिलो नभएपछि मान्छे टिकून् कसरी ?


आदेश दिए पुग्ने ! लकडाउन गर्न सरकारले ढिला गरेन । तर, लकडाउन गरेकै दिनबाट कोरोनाको भन्दा भीषण लक्षण देखापर्योः‍ खतरनाक अल्प–तयारी । युरोप, अमेरिकाजस्ता शक्तिशाली र धनी महादेशलाई तहसनहस पारिरहेको कोरोना प्रकोप हामीकहाँ महामारीकै स्तरमा फैलियो भने के होला ? उसै गरिब मुलुक, प्रश्न स्वाभाविक भइहाल्यो । न्यूनतम तयारीमा समेत चरम लापर्बाही गर्ने सरकारी रबैया हेर्दा त यही प्रश्न अझ भयानक बनेर उभियो । अहिलेसम्म महामारी नै त फैलिसकेको छैन । तथापि, संक्रमण भइसकेको दुई हप्तापछि लक्षण देखिन सक्ने कोरोनाको चरित्र हेर्दा जुनसुकै दिन अस्पतालहरूमा खतरनाक दृश्य नदेखिएला भनेर ढुक्क हुन सकिन्न ।

लकडाउनलाई स्वाभाविकै ढंगले स्विकारिएको दृश्य सतहमा देखिन्छ । यो महामारीको डर हो । संसारभरबाट आइरहेको त्रासद खबरले निर्माण गरेको मनोविज्ञान पनि हो । अर्को कुरा, मिडियादेखि सामाजिक सञ्जालसम्म जसको आवाज मुखर भइरहेको छ, उनीहरू घरभित्र न्यूनतम अवधिका लागि खानादाना, मनोरञ्जन आदिको व्यवस्थापन गर्नसक्ने आर्थिक हैसियतका मान्छे हुन् । उनीहरूमा महामारीको डर हाबी हुनु अस्वाभाविक भएन । एउटा अर्को वर्ग पनि छ, जो रोगको भन्दा धेरै भोकको डरले सताइएको छ । न्यून आयस्रोत भएका, दैनिक ज्यालादारी काम गर्ने र निजी कम्पनीमा काम गर्नेलगायत तमाम गरिबको जनसंख्या नेपालमा ठूलो छ । उनीहरू कतिञ्जेल भाइरस वा लकडाउनको डरले बाँधिएर बसिरहन सक्लान् ? धनवान् युरोपेली मुलुक इटालीमा मानिसहरू डिपार्टमेन्ट स्टोरबाट जबर्जस्ती सामान उठाउन लागिसके, साना पसलहरू लुटिने क्रम सुरु भइसक्यो । नेपालमा यस्तो दृश्य देखिन धेरै दिन कुर्नुपर्ला ?

चीनको वुहानबाट कोरोना महामारी दक्षिण कोरिया, इरान हुँदै इटाली, स्पेन, अमेरिकासम्म पुग्यो । कोरोना सँगसँगै महामारी नियन्त्रणका लकडाउनलगायत विधिहरू पनि चीनबाटै संसारभर पुगे । आजको मितिमा संसारका सबैजसो विकसित भनिएका देशहरू लकडाउनमा छन् । भारत, नेपाललगायत, अरब र अफ्रिकाका कैयौँ देशले पनि लकडाउनकै विधि अनुसरण गरेर भाइरस नियन्त्रणको प्रयास गरिरहेका छन् । महामारीको कहर थप फैलिन नदिन र यसको प्रसारको ‘चेन’ टुटाउन यो प्रयास सफल मानिएको पनि छ । रोगको दृष्टिकोणबाट यो सही देखिएला । तर, भोकको दृष्टिकोणबाट दृश्य फरक देखिन्छ । भारतले लकडाउन गरेको तीन दिनपछि दिल्लीबाट हजारौंको संख्यामा मजदुरहरू घर जान हिँडेको दृश्य देखिन थाल्यो । अहिले यो नियन्त्रणबाहिर पुगेको छ । भारतमै काम गर्ने नेपालीहरू पनि सयौँको संख्यामा नाकामा भेला भएका छन् ।

विभिन्न नाकाबाट लकडाउनअगाडि नै नेपाल प्रवेश गरेका मानिस पनि क्वारेन्टिनबाट विद्रोह गरेर घर हिँडे । एक त क्वारेन्टिनहरू मिडियालाई दृश्य उपलब्ध गराउन मात्र काम लाग्ने गरी बनाइएका छन् । व्यवस्थापन गतिलो नभएपछि मान्छे टिक्ने भएन । लामखुट्टेको टोकाइ, खानपान र सुत्ने व्यवस्था खराब भएको गुनासो मात्र क्वारेन्टिनले दिनसक्यो, भरोसा दिन सकेन । काठमाडौँबाट ठूलो संख्यामा मानिसहरू मोफसल फर्किए । विभिन्न निजी कम्पनीमा काम गर्नेले घरमा बसेको अवधिमा तलब पाउने हो कि होइन, अनिश्चित छ । दैनिक ज्यालादारी गर्ने थुप्रै मजदुर अझै काठमाडौँमै छन् । उनीहरूको स्थिति दिनानुदिन दयनीय हुँदै छ । भारतबाट फर्किएका हुन् वा नेपालकै शहरमा मजदुरी गर्नेहरू, सबै श्रमिकको एउटै आवाज छः रोगले भन्दा भोकले मर्ने भइयो !

लकडाउनले अर्थतन्त्र ठप्प पार्छ भन्ने सामान्य ज्ञान सरकारलाई नहुने कुरा भएन । नेपालभन्दा पहिल्यै लकडाउनको अभ्यासमा गइसकेका मुलुकमा निकट भविष्यमा आइपर्ने ठूलो आर्थिक संकटको आकलन दिनदिनै भइरहेकै छ । अर्थतन्त्रको गति बन्द भएपछि अनिवार्य रूपमा श्रमिक (मैला÷सुकिला सबै) हरूको आम्दानी रोकिन्छ । हरेक घरको पनि आफ्नै अर्थतन्त्र हुन्छ । ऋणधन हुन्छन् । आम्दानीको स्रोतमा ताला लागेपछि साँवाब्याज, किस्तालगायत गरिब श्रमिकको हातमुख जोर्ने उपायमा पनि ताला लाग्छ । त्यसैले लकडाउनमा गएका सबैजसो देशले ठूलो राहत प्याकेजको घोषणा गरेका छन् । लकडाउन अवधिभर घरभाडा तिर्नु नपर्ने, निजी कम्पनीहरूले पनि तलबी बिदा दिनुपर्ने आदि नीति लिएका छन् । भारतमै पनि हातमुख जोर्नै समस्या पर्ने परिवारलाई आधारभूत आवश्यकताका खाद्यान्नलगायत चिज उपलब्ध गराउने घोषणा गरिएको छ ।

नेपालमा चाहिँ के भइरहेको छ त ? संसारका सबै सरकारहरूभन्दा धेरै निश्चिन्त सरकार हामीसँग छ । प्रधानमन्त्री ओली आफैँ ‘क्रोनिक’ बिरामी छन् । बालुवाटारको देश चलाउने निवास उनका लागि ‘भर्चुअल’ अस्पताल भएको छ । अझ ठूलो विडम्बना त के भने उनले यस्तो जंगेशासन चलाइआएका छन् कि उनलाई भेन्टिलेटरमा राख्यो भने देशै भेन्टिलेटरमा जान्छ । उनका उपप्रधानमन्त्री, मन्त्री र कर्मचारीतन्त्र उनका लाचार छायाँजस्ता छन् । त्यसैले महामारीसँग सामना गर्ने तत्परता, जाँगर, साहस र बिजुली गति ओली सरकारसँग अपेक्षै गर्न सकिन्न । एक आदेशले लकडाउन हुन्थ्यो, सरकारले यही ग¥यो । अरू तयारी शून्य ! 

कोरोना भाइरस सरुवा रोग भएकैले टेकु अस्पताल स्वतः ‘फोकल’ अस्पताल बन्नपुग्यो । यसका निम्ति कुनै नीतिगत निर्णय पनि गर्न परेन । तर, त्यहीँ पनि पीपीईलगायत सुरक्षा सामग्री नै जुटाइएको थिएन । समाचारको बाढी उर्लिएपछि बल्ल सरकारले ब्युँझिएजस्तो अभिनय ग¥यो । अचम्म ! समाचारको त्यही बाढीलाई इमर्जेन्सीको मौका बनाएर स्वास्थ्य सामग्री खरिदमै ठूलो भ्रष्टाचार भएको तथ्य सार्वजनिक भयो । अर्कातिर, अन्य अस्पतालले ज्वरो आएको बिरामी हेर्दै नहेरी टेकु पठाउन थाले । अर्बाैंको भन्सार छुटमा उपकरण आयात गरेर निजी नाफाको धन्दा चलाइरहेका निजी अस्पतालले त ढोकै बन्द गरेर बसे । विभिन्न रोगका कारण नियमित उपचारमा जानुपर्ने मानिसलाई पनि उपचारै नपाएर मर्ने स्थिति अहिले आँखैसामुन्ने छ । तर, सरकारलाई यो पनि थाहा छैन, न त तथ्य सार्वजनिक भइसकेपछि नै कुनै पहल लिन्छ ।

लकडाउनले दिनानुदिन सरकारको नालायकीको धज्जी उडाएको होला । यो आफ्नो ठाउँमा छ । भोक र नियमित उपचारको अभाव र त्यसबाट उत्पादन हुने शोकले पूरै समाजलाई बिरामी बनाइदिने स्थिति झनै खतरनाक हुन्छ । स्थिति परिपक्व हुन समय लाग्ला, जब पाक्छ, विष्फोटको ध्वनि निकै ध्वंसात्मक हुनसक्छ । 

लकडाउनभरि घरभाडा नलिन घरबेटीलाई आग्रह गरेको भरमा आम गरिब र श्रमिकको सरोकार सम्बोधन हुँदैन । ओठेआग्रह होइन, ठोस कार्यक्रम घोषणा गरिनुपर्छ । वाइड–बडीजस्ता ठूला जहाज किन्ने काण्डमा विधि–विधान मिच्न मिल्छ, तर संकटको सामना गरिरहेका जनताको ज्यान जोगाउन साखुल्ले बनेर कथित नियमको कुरा गर्न पाइँदैन । अहिलेसम्म न त बृहत्तर अर्थतन्त्रमा आउने आर्थिक संकटको कुरा गर्छ सरकार, न त सूक्ष्म तहमा जनताले भोग्ने संकटकै कुरा गर्छ । कुरा नगरेर संसारकै अर्थतन्त्रमा आइरहेको संकटबाट नेपाल सर्लक्क पन्छिन सक्छ त ?

वास्तवमा लकडाउन घोषणा गर्दा स्वास्थ्य सेवा प्रणाली र अर्थतन्त्रबारे गम्भीर घोषणा आउनुपथ्र्यो । बिरामी सरकारले त्यसो त गरेन नै । आजसम्म हरेक मामलामा जनतालाई आफ्नै भरमा छाडिदिएर केवल सत्ताधारी एलिटहरूको फाइदाको उद्योग चलाइआएको सत्ता हो यो । जनताले आफ्ना सरोकार, आफ्ना लडाइँ आफैँ लडिरहे । तर, अहिले लकडाउन गरेर जनताको जीवन उत्पादन गर्ने लडाइँ नै बन्द गरिएको छ । यतिबेला जनता जेलमा बन्द छन् र हिँडिरहेको त छ केवल सरकार । त्यसैले उसले अरू बेलाजस्तै बेवास्ता गर्न पाउँदैन । जनताको गाँसबास, अत्यावश्यक सामग्री र उपचारको सम्पूर्ण जिम्मा यतिबेला सरकारको हो । सबै निःशुल्क हुनुपर्छ र सबै जनताको पहुँचमा हुनुपर्छ । हालसम्म घोषणा गर्न नसकेको ‘कम्प्रिहेन्सिभ प्लान’ अब घोषणा हुनुपर्छ । त्यसो गर्न सक्दैन भने बिरामी प्रधानमन्त्रीले घरै गएर आराम गर्नुपर्छ । युद्धस्तरमा काम गर्नुपर्ने बालुवाटार स्टेसनलाई नर्सिङ होम बनाएर जनताको जीवनमाथि खेलबाड गर्न पाइन्न ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.