भारतका क्‍वारेन्टाइनमा नेपाली

भारतका क्‍वारेन्टाइनमा नेपाली

सुदूरपश्चिम : गरिबीका कारण रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन खोज्दा नेपाल सरकारले रोकेपछि सीमा नाकामा उनीहरूको बिजोग भएको छ। ‘भारतको गाँसभन्दा आफ्नो मुलुकको माटो प्यारो, सरकार हामीमाथि अत्याचार नगर। हामीलाई नेपाल लैजाऊ। हामी तिमीले जहाँ राख्छौ त्यहाँ १४ दिन क्‍वारेन्टाइन बस्न तयार छौं’, दार्चुलाको मार्मा गाउँपालिकाका धनजित महताले भने, ‘यो चिसो स्टेडियमको सिमेन्टको भुइँले शरीर सुन्निन थालेको छ।’

उनी भारतको धार्चुलास्थित मिनी स्टेडियमको हलमा बसिरहेका छन्। भारतीय पक्षले खानाको व्यवस्था गरे पनि अरू व्यवस्थापन नभएको उनले सुनाए। ‘कोठामा सुत्न कुनै साधन छैन। पिफम किन्न बजारमा पाउँदैन’, उनले भने, ‘एकै हलमा सयौं जना बस्नुपरेकाले कसैलाई कोरोना भए पनि सहजै अरूलाई सर्र्ने डर छ।’

क्‍वारेन्टाइनमा कम्तीमा डेढ मिटर दूरीमा बस्नुपर्ने भए पनि धार्चुलामा त्यसको मतलब नभएको दार्चुला मालिकार्जुन गाउँपालिका–२ का चन्द्रसिंह धामीले बताए। ‘अरू देशले जहाज चार्टर्ड गरेर आफ्ना नागरिकलाई लगिरहेका छन्। हाम्राले पनि चीनबाट जहाजमा ठूलाबडाका छोराछोरी ल्याएकै हो’, उनले भने, ‘हामी मजदुरी गर्ने भएकाले हामीलाई कारागारमा राखेझैं गरेको छ।’

सरकारले गरेको क्‍वारेन्टाइनमा बस्न तयार रहेको तर आफ्नै माटोमा फर्किन दिनुपर्ने उनीहरूको माग छ। ‘धेरेै नेपाली सडक किनारमै सुत्न बाध्य छन्। अधिकांश एक सातादेखि भोका छन्। बाहिर बजारमा गएर कहीं कतै किनेर खाऊँ भने पनि बजार बन्द छ’, भारतको क्‍वारेन्टाइनमा रहेका अपिहिमाल गाउँपालिकाका दिलेन्द्र महताले भने, ‘चिसो भुइँमा सुतेका र खुला आकाशमुनि भोकै सुतेकाहरू बिरामी हुन थालेका छन्।’

दार्चुलापारि धार्चुलाका चार र जौलजीबी गरी पाँच ठाउँमा १ हजार १ सय ७० जना नेपाली चिसो भुइँमा बस्न बाध्य छन्। धार्चुलाको मिनी स्टेडियम, बालुवाकोटमा रहेको जीआईसी कलेज भवन, गलातीस्थित फायर ब्रिगेडको नयाँ भवन, महाकाली नदी किनारस्थित गौशाला र जौलजीबी क्षेत्रको रामलीला मैदानमा नेपालीको व्यवस्थापन गरिएको भारतका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले बताए।

भारतीय सुरक्षाकर्मीबाट दुर्व्यवहार

धार्चुलामा मात्रै होइन, कञ्चनपुरसँग सीमा जोडिएको वनवसा नाकामा १ सय १५ जना नेपाली क्‍वारेन्टाइनमा छन्। भारतको वनवसामा रहेको आम बगैंचानजिकको शारदा इन्टर कलेजको एकै कोठामा ३० जनाका दरले उनीहरूलाई राखिएको छ।

नेपाल सरकारले जारी गरेको क्‍वारेन्टाइन निर्देशिकामा हरेकको दूरी कम्तीमा डेढ मिटर तोकिएको छ। भारतका सीमावर्ती सहरमा बसेका नेपाली एकै कोठामा खाँदाखाँद बसेका छन्। उत्तराखण्ड राज्यका विभिन्न ठाउँमा काममा रहेका उनीहरू भारतमा लकडाउनपछि पैदलै सीमा नाकासम्म आएका थिए।

कैलालीको गोदावरी नगरपालिका–११ ओलानीका गणेश विकले वनवसा क्‍वारेन्टाइनमा सुरक्षाकर्मीको दुव्र्यवहार सहनुपरेको बताए। ‘तुम्हारे नेपालमै हमारे भारतीय नागरिकको खाना भी नही मिल रहा है’, उनले भारतीय सुरक्षाकर्मीको भनाइ उद्धृत गरे, ‘तुम लोग आपने सरकारसे बोलो ना नेपाल जाने के लिए।’

उनीहरूको दुव्र्यहारले हैरान भएको उनले सुनाए। उनी रोजागारीका लागि भारतको हल्द्धानी पुगेका थिए। ‘विद्यालयका कोठामा भुइँमै सुतेका छौं’, उनले भने, ‘खाना त पाएकै छौं तर हामीलाई यातना दिइँदै छ।’ उनीहरू नेपालमा जस्तोसुकै क्‍वारेन्टाइनमा राखे पनि बस्ने बताउँछन्। ‘यताको दुःखभन्दा हामी नेपाल सरकारले जे भन्छ, आफ्नै भूमिमा त्यो गर्न तयार छांै’, उनले भने।

शारदा माविको क्‍वारेन्टाइनमा डडेलधुरा आलितालका महावीर बोहरा पनि छन्। ‘खानेपानीको व्यवस्था छैन। दूषित पानी पिउन बाध्य छौं। कोरोना नभए पनि हामी अरू रोगले मर्ने निश्चित छ’, उनले भने, ‘मरे पनि आफ्नै माटोमा मर्न पाऊँ सरकार।’

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले लकडाउनका कारण अलपत्र परेका नेपालीको खानेबस्ने व्यवस्था भारतीय पक्षले गरेको बताए। १४ दिन क्‍वारेन्टाइनमा बसेपछि अथवा लकडाउनपछि मात्रै नेपाल प्रवेश गर्न पाउने उनको भनाइ छ।

एकै कोठामा कोचाकोच

बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेका मानबहादुर बोहरा ज्यानको बाजी थापी ट्युबमार्फत महाकाली नदी तरेर नेपाल छिरे। उनीसँगै भारतको पिथौरगढामा काम गर्ने चार जना भने भारतीय क्‍वारेन्टाइनमा बसिरहेका छन्।

भारतले धर्मशाला र विद्यालयमा बनाएका क्‍वारेन्टाइनमा नेपाली मजदुर कष्टकर जीवन बिताइरहेको उनले सुनाए। ‘एकै कोठाको भुइँमा धेरै जना बस्नुपर्ने अवस्था छ’, उनले भने, ‘खाने व्यवस्था भारत सरकारले गरेको भए पनि सुत्ने व्यवस्था र बसाइको दूरी ठीक छैन।’

उनले बसोबास राम्रो नहुँदा बझाङ बुंगलका दुई जना क्‍वारेन्टाइनबाट भागेर ट्युबमार्फत महाकाली तरेर नेपाल फर्किएको बोहराले बताए। ‘भारतको त्यो क्‍वारेन्टाइनमा बस्नुभन्दा महाकालीमा बगेर मरे पनि ठीक छ भनेर आएको हुँ’, उनले भने।

पिथौरागढ र आसपासमा मजदुरी गर्ने नेपाली भारतले व्यवस्था गरेको क्‍वारेन्टाइनमा बसेका छन्। उनीहरू बिसु पर्वका लागि घर आउने योजनामा थिए। लकडाउनका कारण क्‍वारेन्टाइनमा बस्न बाध्य भएको उनले सुनाए।

नेपाल सरकारले सीमा नाकाबाट नेपालीलाई नेपाल फर्किन नदिएपछि भारतीय प्रशासनको सहयोगमा झुलाघाटका विभिन्न ठाउँमा २ सय ३७ जना क्‍वारेन्टाइनमा बसेका भारतीय पत्रकार प्रमोद भट्टले बताए। ‘नेपाल प्रवेश गर्न नपाएपछि नेपाली मजदुरहरू तालेश्वरको धर्मशाला, रज्युडा, खरक्युडा र जामिरपानीका आधारभूत विद्यालयको क्‍वारेन्टाइनमा बसेका छन्’, उनले भने, ‘उनीहरू आफूसँग भएका कपडा ओछ्याएर बसिरहेका छन्। खानाको व्यवस्था पिथौरागढ प्रशासनले गरेको छ।’

कोरोनाको जोखिम कम गर्न दूरी कायम गरेर बस्नुपर्ने भए पनि नेपाली मजदुर भने एकै कोठामा कोचिएर बस्न बाध्य छन्। क्‍वारेन्टाइनमा बसेका नेपालीको खानपिन तथा बसोबास व्यवस्था मिलाउन पिथौरागढ प्रशासनलाई आग्रह गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए।

सुर्नया गाउँपालिका–८ ढोलेका दिलीप दमाई गत मंगलबार साँझ महाकाली नदी तरेर नेपाल आइपुगे। पिथौरागढमा मजदुरी गर्ने उनी सीमा नाका बन्द भएपछि ट्युबबाट नेपाल आएका हुन्। ‘बेल्तडीबाट हामी महाकालीमा ट्युबमार्फत वारि आयौं। ट्युबवालाले प्रतिव्यक्ति ६ सय भारु लिएर हामीलाई नेपालतिर पुर्‍यायो’, उनले भने, ‘बन्द भएको अवस्था भनेर ट्युबवालाले बढी रुपैयाँ लिएर महाकाली नदी तार्ने काम गरिरहेका छन्।’

सरकारले कोरोनाको जोखिम बढेको भन्दै सीमा नाका शिल गरेको भए पनि नेपाली ट्युबमार्फत नदी तरेर आइरहेका छन्। ‘हामी आफ्नै देशमा आउन चाहन्छौं। बरु हाम्रो स्वास्थ्य परीक्षण गरेर क्‍वारेन्टाइनमा बस्ने व्यवस्था गरियोस्’, बैतडीका सागर दमाईले भने, ‘हामीले ज्यानको बाजी राखेर आफ्नो देश फर्किनुपर्ने बाध्यताको अन्त्य होस्।’ उनी पनि ट्युबमार्फत महाकाली तरेर फर्किनेमा पर्छन्।

कैलालीपारि ७९ जना क्‍वारेन्टाइन

कैलालीको भजनीसँग सीमा जोडिएको खिरी दीपनगरमा ३९ जना र धनगढीपारिको पलियामा ४० जना गरी ७९ जना नेपाली भारतीय क्‍वारेन्टाइनमा छन्। भारतका विभिन्न ठाउँबाट चैत १५ गते नेपाल प्रवेश गर्न खोजेका उनीहरूलाई भारतीय प्रहरीले क्‍वारेन्टाइनमा राखेको हो। ३९ जनालाई भजनी नगरपालिका–५ को लालबोझी घाटबाट नेपाल फर्किने क्रममा भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो। ४० जनालाई गौरीफन्टा सीमा नाकाबाट भारतको पलिया लगिएको थियो।

गए हुन्थ्यो भन्नेमा भारतीय पक्ष

भारतले लकडाउनका बेला बसमा चढाएर नेपालीलाई सीमा नाका पुर्‍याउने गरेको थियो। नेपाल सरकारको अनुरोधपछि क्‍वारेन्टाइनमा राखे पनि नेपालै लगिदिए हुन्थ्यो भन्ने मनसाय देखिन्छ। त्यही भएर नेपालीलाई उनीहरूले राम्रो व्यवहार नगरेको पीडितले बताएका छन्।

उनीहरूका अनुसार धार्चुलाका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले नेपालीलाई दिनदिनै महाकाली किनारमा गएर नाराबाजी गर्न उक्साउने गरेका छन्। ‘तिमीहरू सीमामा गएर कराऊ, तिम्रो सरकारलाई लैजान दबाब देऊ भन्छन्’, क्‍वारेन्टाइनमा रहेका एक नेपालीले भने, ‘त्यसैले सामान्य खानाबाहेकको कुनै पनि व्यवस्था भारतीय क्‍वारेन्टाइनमा छैन। न सुत्ने दूरी छ न त सुत्नका लागि कुनै व्यवस्था छ न व्यवहार राम्रो छ।’

उनीहरूले बाध्य भएर खाना दिएको उनले सुनाए। भारतका उपजिल्ला अधिकारी शुक्लाले दार्चुलाका सुरक्षा अधिकारीलाई पनि नेपालीलाई नेपाल लैजान दबाब दिइरहेका छन्। ‘नेपालीहरू नेपाल फर्किन चाहन्छन्, तिमीहरू नेपाल लैजाऊ भनेर सुरक्षा अधिकारीलाई दबाब दिने गरेका छन्’, क्‍वारेन्टाइनमा रहेका एक नेपालीले भने।

सुन्दरसिंह धामी। दार्चुला /भगिरथ अवस्थी। बैतडी/महादेव अवस्थी। महेन्द्रनगर/परमानन्द पाण्डे। टीकापुर


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.