आयरल्याण्डका पर्यटकको लुम्बिनीबाट उद्दार
भैरहवा : शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा क्रममा लकडाउनको कारण समस्यामा परेका एक आयरल्याण्डका नागरिकको उद्दार भएको छ । सरकारको निर्देशन लकडाउनको पालना गर्दै ५१ वर्षीय डिन मुर्ले विगत दश दिन लुम्बिनी एक होटलमा बन्धक झै बस्नु परेको थियो । होटलको एउटा कोठामा बस्दा र कोरोना भाइरसको त्रासका कारण उनी मानसिक तनावमा परेपछि लुम्बिनीबाट उनको उद्दार गरी काठमाडौं पठाइएको छ । विदेशी मुलुकले काठमाडौंबाट आफ्नो नागरिकको उद्दार गरिरहेको छ ।
दश दिनदेखि होटलको कोठामा एक्लै बस्नु पर्दा उनी एक्लै चिच्याउने जस्ता गतिविधि गरिरहेको थाहा पाएपछि उनको उद्दारको लागि पहल थालिएको सिद्धार्थ होटल एशोसियसन नेपाल (सान) का सदस्य तथा लुम्बिनीका पर्यटन व्यवसायी प्रविण शाक्यले बताए।
'कोठमा एक्लै बस्दा डिप्रेसनको बिरामी झै व्यवहार देखाएपछि आयरल्याण्डको कन्सुलर कार्यालयमा सम्पर्क गरी उद्दार लागि आग्रह गरेका थियौँ, उनले भने, 'त्यसपछि कार्यालयले उद्दारको लागि आवश्यक कागजपत्र पठाइदिएपछि उनलाई यहाँबाट काठमाडौं पठाइयो।'
कान्सुलरको आग्रह पत्र बमोजिम जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पर्यटकको उद्दारको लागि अनुमति पत्र प्रदान गरेको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जिल्लामा रहेका तेस्रो मुलुकको पर्यटकको काठमाडौं जानका लागि सम्बन्धित दूतावास वा कन्सुलर कार्यालयको पत्रका आधारमा सिफारीस दिने गरिएको बताए ।
उनले जिल्लामा विदेशी पर्यटक रहेको भन्ने यकिन तथ्यांक नभएको बताउँदै लुम्बिनीमा अझै केही पर्यटक रहेको हुन सक्ने बताए ।