लकडाउनले भोकभोकै
मुगु : छायाँनाथ रारा नगरपालिका—४ का २८ वर्षीय दिपबहादुर भियालकी पत्नी तीन महिनाकी सुत्केरी हुन्। दिनभरी ज्यालादारी काम गरेर साँझ घरको चुल्हो बाल्दै आएका दिपबहादुर यतिखेर भोकको चपेटामा परेका छन्।
‘मजदुरी गरेको ज्याला माग्न जाँदा पनि साहुले लकडाउनका कारण पैसा नभएको भन्दै फर्काइदियो’, उनले अन्नपूर्णसँग भने, ‘घरमा खाने अन्न छैन। सुत्केरी पत्नी र बुढीआमाको भोको पेट भर्न सकस छ।’ सोही वडाकी ६० वर्षीया रिसमकला भियाल पनि सदरमुकाम गमगढीमा व्यापारीका मालबाहक गाडीका सामान बोकेर कमाएको पैसाले घर खर्च चलाउँदै आएकी छन्। दैनिक पाँच सयदेखि आठ सयसम्म कमाउने उनी लकडाउनपछि काम नपाउँदा घरमा खानेकुरा पनि सकिएको बताउँछिन्। ‘हामी भोकभोकै छौं। सधैं लकडाउन भयो भने कसरी खाने ? ’, उनले भनिन्, ‘कि त हामीलाई खाद्यान्न उपलब्ध हुनुपर्यो, नत्र काम गरी खान पाउनुपर्छ।’
उनीहरु जस्तै मुगुका चारवटै स्थानीय तहका दैनिक मजुदरी गरी खाने स्थानीयलाई बिहान बेलुका छाक टार्न समस्या परेको हो। सोरु गाउँपालिका—९ का ५५ वर्षीय नन्द नेपालीको पनि सात जनाको परिवार छ। छाक टार्नकै लागि अर्काको घर बनाउने काम गर्दै आएका उनी अचेल काम गर्न नपाउँदा भेट भर्न सकस परेको बताउँछन्। घरनजिकै रहेको कालै प्रहरी चौकी र वडा पालिकाले लकडाउनको अवधिभर घरबाहिर ननिस्कन भनेपछि कमाई खाने बाटो बन्द भएको उनको भनाइ छ।
ज्याला मजदुरी गरी खाने यहाँका अधिकांश दलित परिवार कसरी छाक टार्ने भन्ने चिन्तामा छन्। दलित अधिकारकर्मी धिरज नेपालीले यहाँका दलित परिवारसँग दैनिक ज्याला मजदुरी गर्नुको विकल्प नरहेकाले छाक टार्न सकस भएको बताए। छायाँनाथ रारा नगरपालिका—५ का बाँच्या विकले भने, ‘घरमा अन्नको नाममा चार, पाँच माना चामल र कोदोको पिठो मात्रै बाँकी छ। लकडाउनले काम गरेको पैसा माग्न जान पाइएको छैन। अब नुन मात्रै हालेको खोले खान पनी मुस्किल पर्ने भयो।’
१६ हजार मास्क वितरण
जिल्लाको उत्तारी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा १६ हजार मास्क र साबुन बितरण गरिएको छ। गाउँपालिकाको ११ वटै वडामा गरी १६ हजार मास्क र साबुन वितरण गरिएको हो। तीन हजार ६ सय ६२ घरधुरीलाई नेपाल कम्युनिष्ट पाटी सोरु गाउँ कमिटीले मंगलबार सामाग्री वितरण गरेको हो।
यहाँका सर्वसाधारणले मास्क र साबुन किन्नका लागि पनि जिल्ला सदरमुकाम गमगढी बजार आउनु पर्ने बाध्यता छ। प्रत्येक घरधुरीलाई एक, एक चक्की हात धुने साबुन र प्रत्येक घरका सबै परिवारलाई एक, एक वटा मास्क वितरण गरिएको कमिटी अध्यक्ष रत्नसिंह बिष्टले बताए।