राहतमा विभेदको गुनासो
प्युठान : मल्लरानी गाउँपालिका प्यूठानले कोरोनाको त्रासमा मजदुरी गर्न नपाएका विपन्न घरपरिवारलाई वितरण गरेको राहतमा विभेद गरेको पीडितले गुनासो गरेका छन्। गाउँपालिका-३ स्थित चौरपानी (साविक ७, ८, ९) का दलित समुदायका स्थानीयले आक्रोश पोखेका छन्। जनप्रतिनिधिले आफू निटकका व्यक्तिलाई छानीछानी राहत वितरण गरेको उनीहरुको आरोप छ।
‘श्रीमान विदेशमा हुनुहुन्छ। लकडाउन भएदेखि पैसा पठाउनुभएको छैन्’, स्थानीय २४ वर्षीया गीता परियारले भनिन्, ‘भएको अन्नपात सकियो। किन्ने पैसा छैन्, गाउँपालिकाले पनि हेरेन।’
२ साना छोरासहित खरको झुपडीमा बस्दै आएकी उनले चुहिने घर छाउनसमेत सकेकी छैनन्। घर छाउन नसकेर ठूलो पानी पर्दा छिमेकीको घरमा सहारा लिन जानुपरेको उनले गुनासो गरिन्। गाउँपालिकाले खरको छानो हटाएर जस्तापाता सहयोग पाउने सूचीमा उनको नाम यसपाली राखेपनि राहत वितरणमा आफूलाई नपारेको उनको दुःखेसो छ।
सोही गाउँकी पार्वती नेपालीको गुनासो पनि उनको जस्तै छ। नेपालीका श्रीमान पनि भारतमा मजदुरी गर्छन्। गाउँमा अरुको मेलापात गरेर उनले छोराछोरी पाल्दै आएकी छिन्। शनिबार राहत वितरणका लागि वडाका जनप्रतिनिधी गाउँमा पुगे। आफूहरुले पनि गाउँपालिकाले दिने राहत पाउने आशामा गाउँका विपन्न परिवार कार्यक्रममा पुगेका थिए। तर, राहत पाउनेको सूचिमा नपरेपछि उनीहरु निराश बने। केही क्षण आक्रोश त पोखे तर उनीहरुको पीडा सहितको आक्रोश कसैले सुनेनन्।
गाउँका झण्डै २० जना विपन्न दलित घरपरिवारले राहत पाउने सूचिबाट आफूहरु बञ्चित भएको गुनासो गरेका छन्। वडा कार्यालयले चौरपानी क्षेत्रमा १२ जना घरपरिवारलाई राहत वितरण गरेको छ। ३ नम्बर वडाभरीमा ४३ जनाले राहत पाएका छन्। उनीहरुलाई १ बोरा चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर खानेतेल र एउटा सावुन दिइएको छ।
गाउँपालिकाले बनाएको मापदण्ड अनुसार अति विपन्न परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष गिरिराज पौडेलले जानकारी गराए।