स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार
सुर्खेत : दैलेखको प्राथमिक स्वास्थ्य केन्द्र नौमूलेमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमाथि स्थानीय युवाले अभद्र व्यवहार गरेका छन्। समूहमा आएका युवाले नौमूले गाउँपालिकास्थित उक्त स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर विप्लव सुवेदीलगायत स्वास्थ्यकर्मीमाथि शुक्रबार दिउँसो अभद्र व्यवहार गरेका हुन्।
स्वास्थ्यकर्मीले बिरामीलाई राम्रोसँग जाँच नगरेको र ओपीडी सेवा बन्द गरेको भन्दै नौमूले गाउँपालिकाका सवारी चालक कुलवीर खत्री, स्थानीय गणेश थापातारामी र दिनेश चन्दले मदिरा सेवन गरी आफूहरूमाथि गालीगलौज गर्दै धम्की दिएको डाक्टर विप्लव सुवेदीले बताए। कोरोना भाइरस फैलन नदिन सरकारले लकडाउन गरेपछि स्वास्थ्य केन्द्रमा पनि अत्यावश्यकबाहेक अन्य सेवा बन्द छन्। तर, स्वास्थ्यकर्मी नियमित उपस्थित हुने गरेका छन्।
‘कोरोना भाइरसको संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएर दूरी कायम गरी बिरामीको स्वास्थ्य अवस्था बुझेर औषधि दिने गरेका छाँै’, डा. सुवेदीले भने ‘तर, स्वास्थ्यकर्मीलाई केन्द्र छोड्न धम्की दिएपछि असुरक्षित महसुस भएको छ।’ दैलेखका डीएसपी हरिबहादुर ओलीले स्वास्थ्य केन्द्रमा प्रहरी परिचालन गरिएको बताए। घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने ओलीको भनाइ छ।
सुरक्षा सामग्री छैन
कोराना संक्रमण नफैलियोस् भन्ने हेतुले मुगुको सोरु गाउँपालिकाले आफ्नो पालिका भित्रिने सीमानाका र पालिका केन्द्रसहित सात ठाउँमा हेल्थडेस्क र तीन ठाउँमा क्वारेन्टाइन स्थापना गरेको छ। तर, ती हेल्थडेस्क र क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री छैन। जोखिम मोलेर सेवा दिने गरेका स्वास्थ्यकर्मी ज्वरो नाप्ने थर्ममिटर र मास्कको भरमा सेवा दिइरहेको बताउँछन्।
सबै हेल्थडेस्क र क्वारेटाइनमा स्वास्थ्यकर्मी बसे पनि गाउँपालिकाले आवश्यक सुरक्षा सामग्री पीपीई सेट, पन्जा र थर्मगन उपलब्ध नगराएको स्वास्थ्य शाखा उपसंयोजक राजदेवी शाहीले बताइन्। सोरु गाउँपालिका—७ सिपमा रहेको आधारभूत प्राथमिक विद्यालयमा दुबईबाट आएका दुई जना र भारतबाट आएका आठ जनालाई क्वारेन्टाइनमा राखिएको छ। तर, थर्ममिटर र मास्को भरमा मात्रै क्वारेन्टाइनमा राख्ने गरेको सिप स्वास्थ्य चौकीका इन्चार्ज चरित्र धामीले स्विकारे। यहाँको समस्याबारे अनुगमन भएकाले समाधानको पहल भएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए।
स्थानीयकै अटेर
कालिकोट सान्नीत्रिवेणी गाउँपालिका–६ स्थित पञ्चदेवल माविको भवन निर्माणलाई लकडाउनले रोकेको छैन। कर्णाली प्रदेश सरकारको ५० लाख बजेटमा प्राविधिक तथा व्यावसायिक शिक्षाअन्तर्गत भवन निर्माण गर्न लागिएको हो। लकडाउनले जिल्ला ठप्प छ। तर, त्यहाँ भवन निर्माण धमाधम भइरहेको छ।
गाउँपालिकाको कार्यालय नजिकै प्रहरी चौकीअगाडि बन्दै गरेको यस भवन निर्माणका लागि झन्डै ५० जना मजदुर खटिएका छन्। भवन निर्माणसँगै गाउँमा अन्य चहलपहल पनि पहिलेको जस्तै छ। गाउँमा लकडाउन कार्यान्वयन नहुँदा कोरोना संक्रमण फैलिन सक्ने जोखिम बढेको हो। गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीका दाजु पर्ने खगेन्द्रबहादुर शाही नै विद्यालय भवन निर्माण उपभोक्ता समितिको अध्यक्ष हुन्। गाउँपालिका अध्यक्ष शाहीले अन्य ठाउँमा कुनै बाहिर आउजाउ नगर्नसमेत निर्देशन दिए पनि आफ्नो दाइलाइ भने छिटो भवनको काम सक्न निर्देशन दिएको स्थानीय मातृका उपाध्यायले बताए।
गाउँपालिका नजिकै खोलामा तटबन्धन भइरहेको छ। प्रदेश सरकारको ३५ लाख बजेटमा निर्माण हुने तटबन्धन निर्माण उपभोक्ता समितिका अध्यक्षमा गाउँपालिका अध्यक्षकै भाइ पर्ने अशोक शाही छन्।