कोरोना संक्रमितसँगै आएका प्यूठानका तीनको पहिचान
प्यूठान : नोबेल कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएका धनगढी कैलालीका युवासँग आएका प्यूठानका तीन युवाहरुको पहिचान भएको छ । मल्लरानी गाउँपालिका वडा नम्वर १, ऐरावती गाउँपालिका र माण्डवी गाउँपालिकाका एक÷एक जना युवाहरु रहेको पहिचान भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरेन्द्र बहादुर कार्कीले जानकारी दिए । उनीहरुलाई सम्बन्धित स्थानीय तहको पहलमा निगरानीमा सुरक्षित तरिकाले राखिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।
उनका अनुसार तीनै जनालाई हालसम्म कोरोनाको कुनै लक्षण देखिएको छैन । माण्डवी गाउँपालिका–४ का उदयपुरकोटका युवालाई देविस्थानमा रहेका क्वारेन्टाइनमा राखिएको गाउँपालिका स्वास्थ्य संयोजक धुर्वकुमार पोखरेलले जानकारी दिए । नमुना संकलन (स्वाब) पठाउने वा सम्बन्धित व्यक्तिलाई नै बुटवलमा रहेको आइसोलेसनमा पठाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।
मल्लरानी गाउँपालिका–१ चुँधरी खोलाका यूवा घरमै सुरक्षित रुपमा बसेको वडासदस्य कमल पौडेलले जानकारी दिए । सोमबार उनको स्वाब परीक्षणका लागि बुटवल जाने तयारी भइरहेको समेत उनले बताए । रोजगारीका लागि भारतको नयाँ दिल्ली पुगेका उनी कोरोनाको त्रास बढेपछि घर आएका थिए ।
ऐरावतीका युवालाई महेन्द्र मावि सरङबेसीको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले बताए। उनको पनि स्वाब परीक्षणका लागि बुटवल पठाउने तयारी छ । भागेर आएका ती युवाको बारेमा सिमानामा रहेका प्रहरी प्रशासनले तत्कालै खबर नगर्दा आफूहरुलाई खोजतलास गर्न समस्या भएको समेत उनलेसुनाए ।
भारतसँगका सबै नाका बन्द भएपछि चैत्र १० गते साँझ सयौं नेपाली गौरीफन्टा आइपुगेका थिए । तीव्र दबाबपछि गृह मन्त्रालयको आदेशमा स्थानीय प्रशासनले एक हजार ४३ जनालाई प्रवेश गर्न दिएको थियो । भारतको बम्बईबाट आएका कैलालीका युवामा कोरोना भएको पुष्टी भएपछि त्यही भीडमा रहेकाले उनीहरुलाई पनि कोरोनाको संक्रमण हुनसक्ने भन्दै प्रहरीले खोजी गरेको थियो ।