पूर्व सांसद शाहले दिए स्वास्थ्य संस्थालाई सर्जिकल बेड
जाजरकोट : पूर्वसांसद राजीवविक्रम शाहले जाजरकोटका स्थानीय तहमार्फत स्वास्थ्य संस्थालाई सर्जिकल बेड उपलब्ध गराएका छन् । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड—१९) लाई मध्यनजर गर्दै आइसोलेसनका लागि उक्त बेड उपलब्ध गराएका हुन् ।
शाहले निजी खर्चमा जाजरकोटका सातवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाइ पाँच वटाका दरले ३५ सर्जिकल बेड हस्तान्तरण गरेका छन् । सबै स्थानीय तहले उक्त बेड पालिकास्तरमा रहेको स्वास्थ्य संस्थामा आइसोलेसन वार्ड स्थापनाका लागि प्रयोग गर्नेछन् । नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका शाहले उपलब्ध गराएका बेड स्थानीय तहका प्रमुखलाई हस्तान्तरण गरिएको हो ।
जिल्लामा विभिन्न स्वास्थ्य संस्थामा बेडको अभाव भएको सुनेपछि आफूले सहयोग गरेको शाहले बताए । 'मेरो सानो सहयोगले उपचारमा सहयोग पुग्नेछ । कोरोनाविरुद्धको महाअभियानमा सबै एकजुट होऔं । सबैले लकडाउनको पालना गरौं, उनले भने, 'स्वास्थ्यकर्मीको मनोबल उच्च बनाऔं । सबैले सहयोग गरौं । यस महाविपत्ति परास्त गर्न अत्तिएर होइन । सचेत बनेर लडौं।'
सर्जिकल बेड उपलब्ध गराएर उपचारमा सहजता प्रदान गरेकोमा पूर्वसांसद शाहलाई स्थानीय तहका प्रमुखले धन्यवाद दिएका छन् । नलगाड नगरपालिका प्रमुख रावलले स्वास्थ्य संस्थामा अत्यावश्यक सर्जिकल वेड उपलब्ध गराएर सहयोग गरेकोमा शाहलाई धन्यवाद दिए ।
पूर्वसांसद शाहले स्थानीय तहलाई प्रदान गर्नका लागि स्ट्रेचरलगायत अन्य स्वास्थ्य सामग्री समेत 'अर्डर' गरिसकेको जनाए । शाहले आफ्नो निजी लगानीमा जाजरकोटको छेडागाड नगरपालिका ५ वडाबनमा २५ शैयाको अस्पताल निर्माण गरेका छन् ।
उक्त अस्पताल समेत केही समय भित्रै संचालनमा ल्याउने तयारी भइरहेको उनले बताए । शाह २०७० सालको संविधान सभा निर्वाचनमा जाजरकोट क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।