संक्रमणमुक्त बनाउन विदेशबाट फर्केकाको स्वास्थ्य परीक्षण
भक्तपुर : भक्तपुरमा कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न विदेशबाट फर्केकाको स्वास्थ्य परीक्षण गरिने भएको छ । कोरोना भाइरस संक्रमण भएका मुलुकबाट भक्तपुर फर्केकामा उक्त भाइरसको संक्रमण भए नभएको स्पष्ट गर्न उनीहरुको स्वायब परीक्षण गर्ने भएको हो ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार मंगलबारदेखि स्वायब परीक्षण हुनेछ । समितिका अनुसार अहिलेसम्म भक्तपुरमा विदेशबाट स्वदेश फर्केका एकसय २० जनाको पहिचान भइसकेको छ । तीमध्ये केहीको स्वास्थ्य परीक्षण भइसकेको छ । अहिलेसम्म स्वाब परीक्षण गरिएकामा कोरोना भाइरसको संक्रमण देखिएको छैन ।
'बाँकीमा पनि कोरोना भाइरसको संक्रमण भए नभएको यकिन गर्न विदेशबाट फर्केका सबैको स्वाब परीक्षण गर्न लागेका हौं,' भक्तपुरकी प्रजिअ पाण्डेले भनिन्, 'यसले कोरोना भाइरसको संक्रमणलाई लिएर भक्तपुर सुरक्षित भएको सन्देश जानेछ ।'
उनले विदेशबाट फर्केका सबैको स्वाब परीक्षणले उनीहरुमा संक्रमण भए नभएको जानकारी हुने तथा उनीहरुबाट अरुमा संक्रमण हुनबाट रोक्न सकिने बताइन् । उनका अनुसार विदेशबाट फर्केकाको थप खोजी भइरहेको छ । यसको लागि सम्बन्धित नगरपालिकाले वडा कार्यालयमार्फत उनीहरुको लगत लिने काम भइरहेको छ । केही नगरपालिकाले उनीहरुको तथ्यांक दिए पनि एकदुई नपाबाट पूरा विवरण आउन बाँकी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
उनका अनुसार विदेशबाट आएकाको स्वाब संकलनको लागि भक्तपुर अस्पताललाई जिम्मा दिइएको छ । अस्पतालले संकलन भएको स्वाब परीक्षणको लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउनेछ ।
'अहिलेसम्म भक्तपुर कोरोना संक्रमणका दृष्टिले सुरक्षित छ,' प्रहरी उपरीक्षक प्रधानले भने, 'तैपनि यसलाई वेवास्ता गर्न मिल्दैन । त्यसैले सरकारको लकडाउन घोषणाअनुसार सबै घरभित्रै बसौं ।'
उनका अनुसार हालसम्म विदेशबाट आएकाहरुमा चाँगुनारायण नपामा ४० जना रहेको जानकारी आएको छ । त्यस्तै सूर्यविनायक नपामा ७१ जनाको पहिचान भएको छ । विदेशबाट आएर भक्तपुर र मध्यपुर थिमि नपाभित्र बसिरहेकाहरुको यकिन तथ्यांक नआएको बताइन्छ।
विदेशबाट आएकाहरु अधिकांश होम क्वारेन्टाइनमा बसेको प्रहरी उपरीक्षक प्रधान बताउँछन् । 'उहाँहरु हाम्रो निगरानीमा हुनुहुन्छ,' उनले भने, 'उहाँहरु बाहिर आउनुभयो र कुनै रोगको लक्षण देखिए तत्काल स्वास्थ्य संस्था पुर्याउँछौं ।'
भक्तपुरमा हाल तीन ठाउँमा क्वारेन्टाइन निर्माण गरिएको छ । चाँगुनारायण नपा ७ खरिपाटीस्थित क्वारेन्टाइनमा विदेशबाटै आएका ९६ जना बसेका छन् । त्यसमा भक्तपुरको चाँगुनारायण नपाका तीनजना पनि रहेका छन् । खरिपाटी क्वारेन्टाइनमा बसिरहेका सबैको कोरोना भाइरस परीक्षणमा नेगेटिभ आइसकेको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
त्यस्तै चाँगुनारायण नपा ६ नगरकोटस्थित सरसफाइ तालिम केन्द्र र मध्यपुर थिमि नपा ९ बोडेस्थित कृषि तालिम केन्द्रको क्वारेन्टाइन भने खाली रहेका छन् । त्यस्तै कोरोना भाइरसको संक्रमण देखिए उनीहरुलाई छुट्टै कोठामा राख्न जिल्लाको भक्तपुर अस्पताललाई हब अस्पताल मानेर अन्य १० वटा अस्पताललाई सेटलाइट अस्पताल तोकिएको छ ।
जिल्लाका यी अस्पतालहरुमा ४६ शय्याको आइसोलेसन वार्ड व्यवस्था गरिएको छ । तर हालसम्म कुनै पनि बिरामी यहाँको अस्पतालका आइसोलेसन वार्डमा नरहेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।