प्यूठान छिर्ने सीमा नाका बन्द
प्यूठान : तीन जिल्ला प्यूठान, गुल्मी र अर्घाखाँचीको सीमाक्षेत्र झिमरुक गाउँपालिका १ सौतामारे छेडाबाट प्यूठान प्रवेश गर्नेहरुलाई रोक लगाइएको छ । कोरोना भाइरसको संभावित जोखिमबाट बच्नका लागि वडाका जनप्रतिनिधि र स्थानीय नागरीक समाजका अगुवाहरुको पहलमा सिमानामा बेरिङ लगाएर आवतजावत ठप्प पारिएको छ ।
सोमबारदेखि बेरिङमा एकजना युवालाई रेखदेख गर्नेगरी व्यवस्था मिलाइएको वडा अध्यक्ष धुर्वराज खनालले जानकारी गराए । 'तीन जिल्लाको सीमाना भएकाले पनि मानिसको आवतजात बढ्ने देखियो,'उनले भने, 'बाटो पूर्ण रुपमा ठप्प पारेपछि आवतजावत रोकिने छ ।'
उनले झिमरुक गाउँपालिकासहित समग्र प्यूठानकै सुरक्षाका लागि यस्तो अभ्यास गरिएको जानकारी गराए । वडा कार्यालयकै पहलमा झिमरुक गाउँपालिका वडा नम्वर २ को सिमाना, अर्घाखाँचीको मालारानी गाउँपालिकाको सिमाना विडडाँडा, झिमरुक १ र ४ छुट्याउने च्याउखोला, २ र १ छुट्याउने बाँदीकोटको चिप्लेटी छेडामा समेत बेरिङ राख्ने तयारी भइरहेको वडा अध्यक्ष खनालले जानकारी गराए ।
छिमेकी वडा कार्यालयबाट समेत गाउँमा आवतजावत गर्न ठप्प पारिएको खनालले बताए । 'सबै मिलेर कोरोना विरुद्ध लड्नुपर्छ,'उनले भने, 'वडा कार्यालय एक्लैले मात्र यसलाई रोक्न सक्दैन् । समुदायको साथ अनिवार्य हुन्छ ।'
उनले वडाबासी सबैलाई विपत्ती सामना गर्न हातेमालो गरेर अघि बढ्न समेत आग्रह गरे । वडा र गाउँका अगुवा नागरीकहरुको पहलमा अमंरसिँह माध्यमिक विद्यालय सौतामारेमा ५ बेड क्षमताको क्वारेन्टाइन बनाउने तयारी भइरहेको छ ।
छिमेकी गुल्मीको मदाने गाउँपालिकाले सौतामारे छेडाकै आफ्नो क्षेत्रमा स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क राखेपनि झिमरुक गाउँपालिकाले यसतर्फ चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।