आमाको काजकिरियामा जाने भन्दै यात्रु ओसार्ने पक्राउ
ललितपुर : आमाको काजकिरिया गर्न भन्दै सवारी पास लिएर यात्रु ओसारेको भन्दै चारजना पक्राउ परेका छन् ।
३० यात्रु बोकेर काठमाडौं बाहिर जान तयार भएको प्रदेश ३-०१-००५ ख ९१९८ नम्बरको बसलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरको झम्सीखेलबाट सोमबार उनीहरु पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परीसर ललितपुरका प्रमुख टेक प्रसाद राइका अनुसार पक्राउ पर्नेमा सप्तरी सुरुङा नगरपालिका ८ का सवारी प्रयोगकर्ता ४५ बर्षका शुभराम चौधरी, चालक जितेन्द्र चौधरी , सवारीधनी इन्द्रदेव यादव र बाबुलाल कुमाल छन् ।
उनीहरुले जिल्ला प्रशासनबाट आजैदेखि लागु हुने गरी सवारी अनुमति समेत लिएका थिए । झुटो विवरण देखाएर लकडाउन उल्लंघन गर्दै यात्रु बोकेको थाहा पाएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रत्येक यात्रुबाट २ हजारका दरले रकम संकलन गरेको पनि प्रहरीले अनुसन्धानका क्रममा भेटेको छ । झुटो विवरण दिएर लकडाउन उल्लंघन गरेको अभियोगमा उनीहरुलाई कारवाही हुने राइले जानकारी दिएका छन् ।