प्रहरीकै अगाडी जनप्रतिनिधिले युवालाई कुटे
प्युठान : गुल्मी र अर्घाखाँचीको सिमाना सौतामारेमा सामान्य विषयमा भनाभन हुँदा गुल्मीका एक जनप्रतिनिधिले प्युठानका युवालाई कुटेका छन्। मदाने गाउँपालिका-६ गुल्मीका वडा सदस्य चक्र बहादुर जिसीले झिमरुक गाउँपालिका-१ सौतामारेका १८ वर्षीय विष्णु जिसीलाई कुर्सी प्रहार गरेका हुन्। उनको दुबै आँखामा चोट लागेको छ।
मदाने गाउँपालिका गुल्मीले सौतामारे (प्युठान) मा सञ्चालन गरेको हेल्थ डेक्समा जान खोज्दा ती युवालाई वडा सदस्य जिसीले कुटेको प्रत्यक्षदर्शीले बताएका छन्। उनी १५ दिन अघि भारतबाट घर आएका थिए। हेल्थ डेक्समा खटिएका प्रहरीकै अगाडी वडा सदस्य र उनका आफन्त कुटेको स्थानीय युवा कपिल जिसीले बताए। कुटिरहेको अवस्थामा अर्घाखाँचीबाट खटेका प्रहरीले छुट्याउन खोजे पनि गुल्मीबाट खटेका एक जना प्रहरी मुखदर्शक बनिरहेको प्रत्यक्षदर्शी बताउँछन्।
कोरोनाको भाइरस फैलिन नदिनका लागि सोमबार विहान झिमरुक गाउँपालिका-१ प्युठानका वडा अध्यक्ष धुर्वराज खनालको पहलमा प्युठान प्रवेश गर्न रोक लगाउने गरी सौतामारेमा बेरियल राखिएको छ। उक्त बेरियलमा कुटाइ खाएका युवालाई हेरालुको रुपमा राखिएको थियो। बेरियलदेखि छेउँमै हेल्थ डेक्स संचालन गरिएको छ। 'सामान्य विषयमा भनाभन हुँदैमा हात हाल्नु राम्रो भएन' झिमरुक-१ का वडा अध्यक्ष धुर्वराज खनालले भने 'बौद्धिक लडाई पो गर्ने हो, हातै हाल्नु समस्याको समाधान होइन्।'
वडा सदस्य चक्र बहादुर जिसीले आफूले हात हालेको स्वीकार गरेका छन्। 'त्यो भाइले पनि मलाई हात हाल्यो' उनले भने 'हेल्थ डेक्समा सवैजना जानु हुँदैन भनेर सम्झाउँन खोज्दा झगडा भएको हो।' उनको पुर्कोटदह स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। हेल्थ डेक्समा गुल्मीबाट एक जना मात्र प्रहरी खटेकाले धेरै जनताका अगाडी केही गर्न नसकिने इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरिक्षक पंकज चुँजालीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी राजेन्द्रसिंह खड्काले घटनाबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए।
तीन जिल्लाको सिमानामा पर्ने सौतामारेमा पछिल्लो समय झगडाका घटनाहरु बढ्दै जान थालेको स्थानीयबासीको भनाई छ। सिमानामा प्रहरी विट स्थापना गर्न स्थानीबासीले माग राखेपनि अझैसम्म सुनुवाई भएको छैन्।