कोरोना संक्रमण रोक्न सरकार पूर्ण तयारीसाथ जुटेको छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोराना रोकथाम तथा नियन्त्रण गर्न सरकार पूर्ण तयारीमा जुटेको बताएका छन्। मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। उनले कोरोनाविरुद्धको लडाइमा सिंगो विश्व लागेको उल्लेख गर्दै सबैको साथ र सहयोग भएमा कोरोनालाई जित्न सकिने बताए। उनले सिंगो मुलुक एकजुट भएर कोरोनाविरुद्ध लड्नुपर्ने बेला आएको बताए।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले सातै प्रदेशमा पीसीआर प्रविधिबाट कोरोना परीक्षण सुरु गरिएको जानकारी दिए।संक्रमित जिल्लामा र्यापिड डाइगोनिस्ट टेस्ट पनि सुरु गरिएको प्रधानमन्त्रीले बताए। सम्बोधनका क्रममा प्रधानमन्त्रीले सातै प्रदेशमा भेन्टिलेटरसहित अन्य स्वास्थ्य सामग्रीको जोह र क्वारेन्टाइनमा बसेका र अन्य संक्रमित व्यक्तिको पनि कोरोना परीक्षण हुने बताए।
उनले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताए। उनले भने, अबका दिनमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम हुनसक्छ।' उनले कोरोनाको संक्रमण फैलिन नदिन सरकार जुटिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए।
प्रधानमन्त्री ओलीले कोभिड-१९ का कारण उत्पन्न संकटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ भन्दै संकटका काला बादल अवश्य हटेर जाने विश्वास व्यक्त गरे। 'मुलुक कोरोना विरुद्धको लडाईंमा होमिएको र देशमा सङ्क्रमणको पहिलो 'केस' पहिचान भएयताका साझा प्रयत्नले सङ्क्रमितको सङ्ख्या नौ जनामा मात्र सीमित गर्न सकिए पनि मुलुक उच्च जोखिममा रहेको चित्रण गरे।
यस्तै प्रधानमन्त्रीले कोभिड-१९ सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेकाले थप सचेत हुनुपर्ने अवस्था सृजना भएको भन्दै सबैलाई थप सचेत र सावधान रहन आग्रह गरे। विदेशबाट आएका सबैलाई 'क्वारेन्टिन' मा बस्न आग्रह गर्दै उनले भने, 'बाहिरबाट आएका सङ्क्रमितबाट स्थानीयमा सरेको सङ्क्रमण एक जनामा देखिएसँगै हामी महामारीको दोस्रो चरणमा प्रवेश गरेका छौँ । यसबीच हजारौँको सङ्ख्यामा नेपालीहरु घर फर्किनु भएको छ। उहाँहरुमध्ये कतिपयले क्वारेन्टिनमा बस्न गरिएको आग्रह र प्रबन्धलाई ध्यान नदिएकोले चिन्ता थपिएको छ।'
सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले युद्धस्तर र समन्वयात्मकरुपमा काम गरिरहेको उनले उल्लेख गरे।