उच्च ज्वरो आएर तामाकोसी अस्पतालमा भर्ना भएका वृद्धको मृत्यु
काठमाडौं : रामेछापमा उच्च ज्वरो आएर अस्पताल भर्ना भएका एक वृद्धको मृत्यु भएको छ। उच्च ज्वरो आएर मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा मंगलबार बेलुका ५ बजे भर्ना भएका गेलु निवासी ६७ वर्षीय तुलाबहादर थापामगरको गएराति ११ : ४५ बजे मृत्यु भएको हो।
कोरोना भाइरसको मिल्दो जुल्दो लक्षण देखिएकाले मृतक व्यक्तिको स्वाब परीक्षणको लागि धुलिखेल पठाइएको अस्पतालका हेल्थ असिस्टेन्ट हरिप्रसाद वाग्लेले जानकारी दिए। उनले भने, ' उहाँको रगत जाँच गरेको र कोरोना भाइरस संक्रमणको लक्षण देखिएकाले स्वाब संकलन गरेर परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको छ।'
कोरोना संक्रमण भए/ नभएको धुलिखेल अस्पतालबाट रिपोर्ट आएपछि मात्र यकिन गर्न सकिने उनले बताए। वाग्लेकाअनुसार उपचारमा संलग्न करिब १५ जना चिकित्सकको टोली क्वारेन्टाइनमा बसेका छन्।तामाकोशी सहकारी अस्पतालको आइसोलेसन कक्ष।
दमको रोगीसमेत रहेका वृद्धलाई तीन दिनदेखि उच्च ज्वरो आएपछि अस्पतालमा लगिएको थियो। मृतकको शवलाई सुरक्षित तरिकाले दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको छ।
अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशासनको आग्रह
यसैबीच रामेछाप जिल्ला प्रशासनले औषधी उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने, घुमफिर नगर्न आग्रह गरेको छ। जिल्ला प्रशासनले मंगलबार एक सूचना जारी गर्दै चैत्र महिनामा भारत लगाएत तेस्रो मुलुकबाट आएका नागरिकहरु क्वारेन्टाइनमा बस्न नमान्ने एक्लै वा समूह बनाई घुमफिर गर्ने, नेपाल सरकार तथा जिल्लाबाट जारी गरिएको निषेधाज्ञाको पालना नगर्ने विभिन्न सामुदायिक क्रियाकलापमा भाग लिएको पाइएमा जानकारी गराउन अनुरोध गरेको छ।
प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माद्वारा हस्ताक्षरित सूचनाम जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पुयाउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० (संशोधन सहितको) दफा ३ बमोजिम कारवाही गरिने उल्लेख छ।