उदयपुरका १३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ
उदयपुर : कोरोना भाइरस कोविड-१९ को आशंकामा स्वाब परीक्षणका लागि पठाइएका उदयपुरका १३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले संकलन गरेको १२ र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका टोलीले संकलन गरेको १ सहित १३ जनाकै रिपोर्ट नगेटिभ आएको हो।
स्वाब परीक्षणका लागि विदेशबाट आएका त्रियुगा नगरपालिकाका ८ जना, लिम्चुङ्गबुङ्ग गाउँपालिकाका ४ जना र बेलका नगरपालिकाका १ जनाको पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए। विरामी सबैको नतिजा नेगेटिभ आएकाले हालसम्म जिल्लामा संक्रमण देखानपरेको उनले बताए।
उनले भने, 'कोरोना भाइरसको दोश्रो चरणमा नेपाल प्रवेश गरिसकेको छ, अहिले आएको प्रारम्भिक रिपोर्ट मात्र हो, कतिपय ठाउँमा अझै पनि लुकेर बसेका व्यक्ति हुन सक्छन्। त्यसले सतकर्ता अझै आवश्यक छ। यही रिपोर्टलाई आधार मानेर ढुक्क भएर बस्ने अवश्था छैन्। रातको समयमा लुकेर अझै पनि गाउँ प्रवेश गरेको भन्ने सुनिन्छ, त्यसैले उच्चसतर्कता अझै आवश्यक रहेको छ। जति सतकर्ता अपनाईयो, त्यति हाम्रा लागि फाईदा हो, रोग भित्रिसकेपछि सकिनै जान्छ, त्यसअघि सावधान अपनाएकै बेस।'
कार्यालयले दिएको जानकारीअनुसार जिल्लाका ८ स्थानीय तहमा रहेका क्वारेन्टाइनमा बस्नेको संख्या ६८ पुगेको छ। प्रमुख सुवेदीकाअनुसार कटारी नगरपालिकामा २६ जना, चौदण्डीगढी नपामा ५, त्रियुगा नपामा ८, बेलका नपामा ९, रौतामाई गापामा ८ र लिम्चुङबुङ गाउँपालिकामा १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
स्थानीय तहले सञ्चालन गरेका फिवर क्लिनिकमा ७३ जनाले जँचाएका छन्। जिल्लामा होमक्वारेन्टाइनमा बस्नेको संख्या दुई सय ८१ जना पुगेको छ। त्यसमध्ये सबैभन्दा बढि बेलका नगरपालिकामा एक सय ७३, त्रियुगामा ७९, कटारीमा २२ र ताप्लिमा ७ जना रहेका छन्। विदेशबाट आएका तर केहि विरामी नदेखिएका उनीहरुलाई स्थानीय प्रशासनले १४ दिनसम्म घरबाहिर ननिस्कन गरी होमक्वारेन्टाइनमै राखेको हो।