संक्रमित युवतीसँगै जहाजमा आएका युवाको कोरोना नेगेटिभ
ताप्लेजुङ : चैत्र ४ गते कोरोना संक्रमित युवतीसँगै कतारबाट जहाजमा आएका युवाको रिपोर्ट नेगेटिभ आएको छ । युवासहित भारतबाट फर्किएकी महिला र उच्च ज्वरो देखिएका एक वृद्धको स्वाब परीक्षणका लागि धरान पठाइएको थियो ।
तीनै जनामा कोरोना संक्रमण नरहेको पुष्टि भएको जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डा. सोनिङ लामाले बताए । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण भएको हो ।
उनीहरू अहिले होम क्वारेण्टाइनमा छन् । यस्तै जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत तीन जनालाई समेत डिस्चार्ज गरिएको लामाले जानकारी दिए । वृद्धको र अन्य दुई जनाको आफन्त महिलाको समेत रिपोर्ट नेगेटिभ देखिएपछि होम क्वारेण्टाइनमा बस्ने गरी छोडिएको हो ।