अत्यावश्यक सामान भन्दै मदिरा ढुवानी
मकवानपुर : जिल्ला प्रहरी कार्यालय मकवानपुरले लकडाउन उल्लङ्घन गर्दै अति आवश्यक सवारी भनि सूचना टाँसेर मदिरा ढुवानी गर्ने अटो र स्कुटरसँगै १८० लिटर मदिरा बरामद गरेको छ । प्रहरीका अनुसार बरामद भएको मदिरा जनप्रतिनिधि र पत्रकारको रोहवरमा पोखेर नष्ट गरिएको छ।
लकडाउनको समयमा प्रहरी प्रशासनले अतिआवश्यक सवारी बाहेक सञ्चालनमा रोक लगाएकाले एक अटोले दुग्ध दुवानी सेवाको ब्यानर राखेर मदिरा ओसार्ने क्रममा प्रहरीले बरामद गरेको थियो। त्यसैगरी स्कुटरबाट करीब ४० लिटर मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।