आँगन जोडिएका छिमेकीको डर
झापा : आँगनमा सेतो ११२ नम्बरको जंगे पिलर। लगत्तै छन् अरू साना पिलर। यो स्थान पर्छ दशगजाभित्र। पिलरको पल्लोतिर भारतीय छिमेकी र वारितर्फ नेपाली गाउँ। बिहेबारी, घर-माइती, नुन, मसला सरसापटदेखि पाकेको तरकारी चाख्ने-चखाउने सबै चल्छ यहाँ।
सीमाको हिसाबले नेपालका छिमेकी पल्लो छेउमा छन्। भारतसँगै आँगन जोडिएको छ। नेपाली घरको बलेसीको पानी भारतीय बस्तीमा झर्छ। ‘कोरोनाले कहाँ छिमेकीबीचको आत्मीयता जित्न सक्छ र ? ’ स्थानीय नेपाली भन्छन्। रातदिन प्रहरी आएर भन्छन्, ‘भारततिरका छिमेकीसँग केही दिन आवतजावत नगर्नुहोस्। तर, आँगन जोडिएका छिमेकीसँग बोल्दिनँ, सँगै बस्दिनँ भनेर कहाँ पुग्छ ? ’ स्थानीय बाबुल यादवले भने, ‘नेपालतिर केही पाइँदैन। पाइए पनि अहिले महँगो छ। भारतमा हामीलाई अहिले जान दिइँदैन। छिमेकीहरू रासन लिन जाँदा हामी पनि सामान मगाउँछौँ।’
बाबुल भन्छन्, ‘नेपाल सरकारले भारतसँग टसमस नै नगर भन्नका लागि हामीलाई भोकै मार्न त भएन नि, खाने चामल दिनुपर्यो। नत्र बाँच्नु कसरी ? ’ भारततिर महिनावारी आधार कार्डको आधारमा सरकारले रासन वितरण गर्छ। अहिले देशमा लकडाउन सुरु भएपछि निम्न वर्गीय परिवारलाई भारत सरकारले बोलाएरै पाठामारीबाट नजिकैको भारतीय बजार भवानीगञ्जमा रासन दिने व्यवस्था गरेको छ। यो कचनकवल गाउँपालिका-५ पाठामारीबाट करिब ७ किमि दूरीमा पर्छ। त्यहाँ नेपाली गाउँसँगै जोडिएका भारतीय रासन लिन जाने-आउने गर्छन्।
उक्त दशगजा क्षेत्रमा ६० घर छन्। एकातिरको लाइनमा लस्करै २५ घरजति भारतीय छन्। उनीहरू अधिकांशको आधार कार्ड छ र बिना रोकतोक भारतको भवानीगञ्जसम्म पुगेर आउँछन्। आधार कार्ड भएका भारतीयलाई सीमा सुरक्षा बल (एसएसबी) को टोलीले समूहमा नगई एक्लै बजारसम्म पुगेर रासन ल्याउन दिएको छ। नेपाली सीमा सुरक्षार्थ खटिएका प्रहरी भन्छन्, ‘हामीलाई चुनौती नै यही छ। एसएसबीलाई पनि अनुरोध गरेका थियौँ। रासन लिन जान-आउन रोकिदिनुहोस् भनेर तर आधार कार्ड भएका जनतालाई रोक्न नसकिने बताउँछन्।’
पाठामारीमा भारततिर घर भएका सोहन गणेश भन्छन्, ‘खानुपर्यो। अहिले मजदुरी छैन। रासन लिन जान्छौँ तर सरकारले हामीलाई मास्कलगायत सामग्री केही उपलब्ध गराएको छैन। हात धोएर जान्छौँ। धोएरै फर्कन्छौं।’ कचनकवल गाउँपालिकाअन्तर्गत उत्तरमा डाँगाबारीदेखि दक्षिणमा दलेगाउँसम्मको ३ किलोमिटरको अधिकांश नेपाल खण्ड भारतको आँगनमै जोडिएको छ। उक्त स्थानका भारतीय नजिकैको सीमा बजार तेलीभिट्टासम्म रासन लिन जाने-आउने गर्छन्।
सोही गाउँपालिका-५ का वडाध्यक्ष मोहनलाल गणेश भन्छन्, ‘दशगजाभित्र अति संवेदनशील क्षेत्रमा नेपाली बस्ती छ। जहाँ मुस्लिम परिवारको बाहुल्य छ। परिवार ठूलो छ। एउटा मास्क पनि उपलब्ध गराउन सकेका छैनौँ। आँगनमा भारत छ। आधार कार्ड भएकाहरू फाट्टफुट्ट भारतका नजिकैका बजारमा सामान लिन जान्छन् जसलाई रोक्नै सकिँदैन।’
उक्त क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर दुई दिनअघि मात्र सशस्त्र प्रहरीको अस्थायी क्याम्प बसेको छ। सशस्त्रले भारततर्पm रासन लिन जाने भारतीयलाई सम्झाई-बुझाई अत्यावश्यक परेको खण्डमा मात्र जान अनुरोध गर्ने गरेको झापा जिल्ला सीमा प्रहरी प्रमुख रमेश थाक्सुले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार भारतसँग सीमा जोडिएको क्षेत्रमा नेपाल प्रहरीका ३९ वटा प्रहरी चौकी छन्। ‘खुला बोर्डर भएकाले चुनौती छ। पछिल्लो समयमा संख्या पनि थप गरेका छौँ,’ उनले भने।