लकडाउनमा लब्रेकुटिमा ध्यान साधना
फिदिम : लकडाउनको समयलाइ सदुपयोग गर्ने भन्दै पाँचथरका युवाले ९ दिनसम्मको ध्यान साधाना गरेका छन् । १६ औँ राष्ट्रिय विभूति तथा किरातका महागुरु फाल्गुनन्दले ध्यान गरेको पाँचथरको लब्रेकुटिमा ध्यान गरेका हुन्।
'पहिलो चरणको ध्यान साधना सकिएको छ,' योग प्रशिक्षक शंकर आत्माले भने, 'नौंजना युवाहरुले नौं दिनसम्म कठोर ध्यान साधाना गर्नुभयो ।' लकडाउनको समयमा घरबाट बाहिर निस्कन नमिल्ने भएपछि युवाहरुले धार्मिक पर्यटकिय क्षेत्र लब्रेकुटिको जंगलमा ध्यान गरेका हुन् । फुर्सदको समयमा नराम्रा बिचारहरु नआउन भनेर ध्यान गरिएको उनीहरुको भनाइ छ।
'योग, ध्यान, अध्ययन एक किसिमको क्वारेन्टाइन हो,' अर्का योग गुरु एलबी नेम्बाङले भने, 'योग, ध्यान, र अध्ययन गर्ने समय मिलाएर युवाहरुले साधना गरे ।'
शारिरिक र मानसिक रुपमा ठिक रहन ध्यान र योग आवश्यक भएको उनीहरुको ठहर छ । ध्यान गरेको स्थल प्राकृति क्वारेन्टाइन भएको उनीहरुको भनाई छ । ध्यान स्थलमा अन्य मानिसहरुलाई प्रवेश निशेध गरिएको थियो।
'ध्यानका लागि भौगोलिक र वातावरणीय हिसाबले लब्रेकुटि अनुकुल भएकाले त्यहाँ गएर ध्यान गरिएको हो,' ध्यान साधनामा सहभागि मधु केरुङले भने, 'ध्यानले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने हाम्रो ठहर हो।' ध्यानमा सहभागीले शाहाकारी खाना खाएका थिए । ध्यानमा सहभागिले बिहान र बेलुकाको समयमा ध्यान, दिउँसो अध्ययन, विचरण र विमर्श गरेका हुन् । लकडाउनको समय थपिए दोस्रो चरणको ध्यान साधान गर्ने उनीहरुको तयारी छ ।