कोरोना रोकथाम : जाजरकोटबाट १४ स्वाब सुर्खेत पठाइयो
जाजरकोट : जाजरकोटमा पहिलो पटक १४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको छ । त्रिभुवन माविको क्वारेन्टाइनमा बसेका र अन्य होम क्वारेन्टाइनमा बसेकाबाट १४ जनाको कोरोना संक्रमण परीक्षण गर्न जाजरकोटबाट पहिलो पटक स्वाब संकलन गरी सुर्खेत पठाइएको हो ।
सुर्खेतबाट आएको स्वास्थ्यकर्मीको टोलीले भेरी नगरपालिकाको क्वारेन्टाइनमा बसेका २ जना, भारत तथा तेस्रो मुलुकबाट आएका १२ जनाको स्वाब संकलन गरेको हो । विदेशबाट आएका तथा मिल्दोजुल्दो लक्षण देखिएकाको स्वाब संकलन गरिएको भेरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख निशा थापाले बताइन् । सरकारले देशबाहिरबाट आएका सबैको परीक्षण गर्नुपर्ने भनेकाले त्यसैअनुसार पहल भइरहेको उनले बताइन् । स्वाब संकलन गरिएका मध्ये २ जना मात्र क्वारेन्टाइनमा बसेका हुन् ।
स्वाब संकलनका लागि प्रदेश अस्पताल सुर्खेतबाट आएका ल्याव टेक्निसियन भरत देवकोटा नेतृत्वले जाजरकोट अस्पतालका ल्याव टेक्निसियनहरुलाई संकास्पदको नुमना संकलन गर्ने तरीका समेत सिकाएको छ । स्वाब संकलनका लागी आबश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) समेत छोडेर गएका छन् । 'हामीसँग २० ओटा भिटिएम छ । स्थानीय तहसँग समन्वय गरेर तत्काल थप शंकास्पदको स्वाब संकलन गरी सुर्खेत पठाउँछौ,' जिल्ला अस्पतालका ल्याब टेक्निसियन तथा महामारी फोकल ब्यक्ति कृष्णबहादुर खत्रीले बताए।
त्रास कायमै
जाजरकोटमा भने लकडाउनकै अवधीमा करीब पाँच हजार मानिस जिल्ला भित्रिएका छन्। त्यसमध्ये तेस्रो मुलुकबाट १८ र भारतबाट दुई सय ३० जना जाजरकोट आएका छन् । ती सबै निर्वाध घुमफिर गरिरहेको स्थानीयको भनाई छ । स्थानीय सरकार र प्रहरीले उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेपनि अटेर गदै घुमफिर र भेटघाट गरिरहेका छन् । कतिपयले लकडाउनकै समयमा पनि सामुहिक रुपमा कामकाज गर्ने, खोलामा माछा मार्ने, जुवातास खेल्ने गरिहेको जुनीचाँदे ५ का गणेश थापाले बताए ।
लकडाउनकै अवधीमा मानिसको चलायमान नरोकिएको र भारतबाट आउने क्रम पनि नरोकिएकाले गाउँमा संत्रास बढीरहेको उनले बताए । कोरोना भाइरसको संक्रमण फैलिएको दुवइ, कतार, साउदी अरेविया, मेलेसिया लगायतका देशबाट मजदुरीका लागी गएकाहरु फर्किएका छन् । स्वदेशकै पनि संक्रमण देखिएको बाग्लुङ्गलगायतका जिल्लाबाट मानिस लकडाउनकै अवधीमा नेताहरुको सोर्स लगाउँदै जिल्ला भित्रिएका छन् तर उनीहरु कसैलाई पनि क्वारेन्टाइनमा राखिएको छैन।
उनीहरु परिवार र आफन्तसँग घुलमिल भइसकेका छन् । सवै निर्वाध घुमफिर गरिरहेका छन् भेरी नगरपालिका ४ का अमर शाहले भने, 'जसका कारण जोखिम बढेको छ तर संकास्पद विरामीको स्वाब (नमुना) संकलनको दायरा नबढाउँदा त्रास बढेको छ । तत्काल विदेशबाट आएका र संक्रमण देखिएका जिल्लाबाट आएकाको नमुना संकलन गरी उनीहरुलाई क्वारेन्टाइनमा राख्नु पर्छ ।'
शंकास्पदको स्वाब संकलनका लागि आवश्यक पर्ने भिटिएम (भाइरल ट्रान्सफोर्ट मिडिया) जिल्लाका दुर्गम ठाउँसम्म नपुग्दा समस्या देखिएको स्वास्थ्यकर्मीको भनाई छ । बारेकोट गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले दुर्गम पालिकामा पनि स्वाब संकलनको व्यवस्था गर्न माग गरे । 'स्वाब संकलनको दायरा बढाउनुपर्छ । कम्तिमा विदेशबाट आएका र संकास्पदको स्वाब संकलन गरि पठाउन पाएको भए । काम गर्न सजिलो हुन्थ्यो,' उनले भने ।
लकडाउनको अवधीमा जिल्ला भित्रिएका सवैलाई स्थानिय सरकार र प्रहरीले होम क्वारेन्टाइनमा बस्न आग्रह गरेपनि नमान्दा जोखिम बढ्ने देखिएको छ । ति सवैको कारोना संक्रमण भएनभएको एकिन गर्न स्वाब संकलन गरी पठाउने पहल भइरहेको तर यसको दायरा बढाउनु पर्ने आवश्यकता देखिएको छ प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । भिटिममा संकलन गरिएको स्वाब निश्चित तापक्रममा तत्काल ल्यावमा पठाउनुपर्ने भएकोले पनि जिल्लाका दुर्गम ठाँउमा स्वाब संकलन गर्न समस्या देखिएको उनले बताए ।