विश्‍वव्यथापछिको विश्‍वव्यवस्था : वैश्‍वीकरणको अन्त्य

विश्‍वव्यथापछिको विश्‍वव्यवस्था : वैश्‍वीकरणको अन्त्य

अब सबैजसो देशले तेरो-मेरो भन्दै मुठी कस्ने अवस्थामा उसै पनि बेवास्ता र हीनतामा फसेका हामी थप ‘आइसोलेसन’मा पर्ने सम्भावना उत्तिकै छ। विश्व रंगमञ्चबाट देश नै लामो समय ‘क्वारेन्टिन’मा बस्नुपर्दा आयातमा निर्भर देशको प्रतिरोधी क्षमता कमजोर हुन सक्छ।


कोरोना भाइरसको महामारीले विश्वको राजनीतिक परिदृश्यमा पार्ने प्रभावबारे अहिल्यै-तुरुन्तै केही भनिहाल्न हतार हुन सक्छ। किनभने, कतिपय देशमा यो पहिलो-दोस्रो-तेस्रो चरणमा छ। अर्थात् फैलिँदो चरणमै छ। तर, यति भन्न सकिन्छ, जुन चरणमा भए पनि यसले संसारभरिकै मान्छेलाई त्रस्त बनाएको छ। आश्वस्त हुन सक्ने अवस्था छैन। 

विगतका कलेरा, हैजा, प्लेग, बिफरजस्तै यो पनि मान्छेबाटै सर्ने हो। हावाबाट सर्ने होइन। तर, आजको दिनमा संसार नै समुदाय भएको अवस्थामा, मान्छेको चलमल बढी नै भइरहेको अवस्थामा यो ‘हावासरि’ छिट्टै नै फैलियो। 

यो किन विश्वव्याधि भयो त भन्दा यसले समुदाय र देशको सीमा मान्छेसितै सजिलै पार गर्‍यो। अब देश-देशबीचको अन्तर्राष्ट्रिय सम्बन्धमा, विश्व परिवेशमा कस्ता दृश्य देखिएलान्, कस्ता संवाद सुनिएलान्, कस्तो अभिनय गरिएला ? एक दर्शक वा भुक्तभोगीका रूपमा अनुमान गर्न चाहिँ सकिन्छ। 

यो महामारीले कस्तो खालको अर्थव्यवस्था, कस्तो खालको राजनीतिक व्यवस्था, कस्तो खालको सामाजिक सन्दर्भको सिर्जना गर्ला ?संसारका अध्येताहरूको ध्यान अब यता मोडिएको छ। 
म एउटा विम्बको प्रयोग गरेर कुरा सुरु गर्छु। बम्बईवा दिल्ली सहरमा बस वा अरू सवारी साधन चल्दाचल्दै मान्छे चढ्ने-झर्ने गर्छन्। त्यो बस निश्चित ठाउँमा पुग्छ। बस रोकिएको छैन। चल्दाचल्दै हामीलाई चढ्नु वा झर्नुपर्नेछ। बस हाम्रा अघि तीव्र गतिमा चलायमान भएको अवस्था छ।

यात्रुहरूको गन्तव्य भने फरक-फरक छ। यात्रुहरूलाई आपसमा सहयात्रीको गन्तव्य थाहा पनि छैन। बसरूपी महामारीको गन्तव्यबारे अनुमान लगाउन सकिन्छ तर सबै यात्रुको गन्तव्यबारे यसै भन्न सकिन्न। भोलिको संसार कस्तो हुँदैछ भनेर चर्चा गर्नु निश्चितै रूपमा जरुरी छ। अहिलेसंसारको गति जुन दिशामा छ, जे जस्ता राजनीतिक, सामाजिक, आर्थिक संयन्त्र र सम्बन्ध छन्, तिनमा केही असर पर्दैन भन्नु त्रुटिपूर्ण र अपूर्ण हुन्छ नै। 

अलिकति पछाडि फर्केर हेरौं। हामी जुन उमेर समूहका मान्छे हौं। मेरो उमेरका मान्छेले सन् १९८० को दशकबाट सुरु भएको ग्लोबलाइजेसन (वैश्वीकरण),  आर्थिक उदारीकरण देख्यो, भोग्यो। बर्लिनको भित्तो भत्केपछिको पुस्ता पनि ३० वर्ष भइसक्यो।सन् १९९० मा ३० पुगेको मान्छे अहिले ६० पुगिसक्यो। यता हाम्रै कुरा गर्दा सात सालको परिवर्तन देख्ने-भोग्ने-लड्नेहरू हुँदै हुनुहुन्छ। २०१७ सालको शाही कु-ताका जन्मेका मान्छे नै ६० वर्ष पुगिसके।२०४६ सालको परिवर्तनताका जन्मेका मान्छे नै ३० वर्ष पुगिसके। यसको अर्थ के हो भने यो अवधिमा धेरै उलटपुलट र उथलपुथल, रंग र ढंगका शासन-शासकबाट संसार नै एउटा प्रयोगशाला जस्तो बनेको छ। 
यो अवधिमा जे जे देख्यौं, त्यो सम्पूर्णरूपमा अब चाहिँ बहुमूल्य काल हो। 

अब यताको कुरा गरौं। महामारीको असरलाई लिएर मूल रूपमा दुई थरी बहस र तर्क देखिएका छन्। कतिपय मानिस के भनिरहेका छन् भने यो महामारीले विश्व समुदायलाई एक ठाउँमा उभ्याउँछ। संसारका शासकहरू आपसमा मिलेर, सल्लाह गरेर, एक भएर नै संसारको समस्याबारे घोत्लिनेछन्।

अर्का थरी के भनिरहेका छन् भने, अब शासकहरू सामूहिक वैश्विक चिन्तनबाट खुम्चिएर तेरो-मेरो राज्यमा ओर्लनेछन्। म दोस्रो थरी तर्कमा यथार्थ देख्छु। किन त ? उसै पनि हाम्रा शासकहरू संकीर्ण राष्ट्रवाद र पपुलिज्म (लोकरञ्जनवाद) मा केन्द्रित थिए-छन्। अमेरिका, टर्की, भारत, चीन, रुस, बेलायत, नेपाल सबैतिर संकीर्ण राष्ट्रवाद र लोकरञ्जनवादको उदय भइरहेका बेला महामारी विस्तार भएको छ। यसले यी शासकहरूको सोच, चिन्तन र कार्यशैलीमा झनै लोकरञ्जनवादलाई प्रश्रय दिनेछ। महामारीले हाम्रा ग्लोबल संगठनहरूलाई झनै कमजोर बनाउँदै जानेछ। यस्ता किसिमका समस्या सामना गर्न चाहिने भनेको ग्लोबल थिंकिङ हो। अन्तर्राष्ट्रिय संघसंस्था र संगठनहरू कमजोर हुँदै गएका बेला यो सम्भावना कमै देख्छु म। 

अहिले हामी जुन किसिमको विश्वव्यवस्थामा छौं, यो एक हिसाबले ग्लोबलाइजेसनको युग हो। तर, अब यसमा ठूलै चुनौती बढ्दै गएको छ। राष्ट्र आफैंमा बलियो हुनुपर्छ भन्ने तर्क र विश्वास प्रधान हुँदै गएको छ। राज्यले नै सबथोक गर्नुपर्छ भन्ने भावना बढ्दो छ। 

जस्तो अहिले हामीलाई एक्लाएक्लै बस्न भनिएको छ। सामाजिक संसर्गमा नभई एक्लो बस्नुपर्ने नै छ। यो अहिलेको अनिवार्य बाध्यता नै हो। हामीलाई एक्लै बस्न कसले निर्देशन दिइरहेको छ त भने राज्यले। राज्यले निर्देशित गरेर एक्लै बसेका छौँ वास्वअनुशासित भएर ?चीनको तरिका के थियो भने निर्देशित। इटलीमा जुन भएको छ, यो देखेर के भनिँदै छ भने आफैं अनुशासित भएर बस्न गाह्रो छ। यो दुवै बहस हेर्दा के देखिन्छ भने स्वअनुशासनभन्दा राज्यको निर्देशन प्रभावकारी। 

सतहमा हेर्दा, अहिलेले अवस्था हेर्दा यो सही देखिए पनि कालान्तरमा यसले नराम्रो असर पार्छ नै। स्वअनुशासनमा व्यक्तिगत स्वतन्त्रताले महत्वपूर्ण स्थान नलिन सक्छ, तर जब यही कुरा राज्यको लाठी र मुंग्रीबाट हुन जान्छ, त्यहाँ व्यक्तिगत स्वतन्त्रताले महँगो अर्थ राख्छ। लकडाउनमा राज्य बलियो हुनुपर्छ कि हामीनै स्वयंअनुशासित हुनुपर्छ ?राज्य र नागरिकबीचको सम्बन्धमा फेरि नयाँ परिभाषा देखिँदो छ। हिजो हामीले भनेजस्तो छैन। राज्य अमूर्त छ। राज्य टाढा छ। तर, हामीलाई राज्यकै भरोसा प्यारो छ। यद्यपि राज्यले भरोसा दिन्छ भन्नु भ्रम पनि हो।

मलाई मेरो स्वविचारले नियमन गर्र्दैन। म समुदायबाट टाढा भइसकेँ। म समुदायमा गएँ भने थ्रेट (चुनौती) हुन सक्छु। हामी सबै क्रमश : एक्लो, एक्लो र एक्लो हुँदै थियौं। अब त झन् हुँदै छौं। आज भौतिक रूपमा। भोलि लम्बिँदै जाँदा, महिनौं यसरी नै बस्दै जाँदा त्यो बानी र स्वभाव हुन्छ। हामीलाई छरछिमेकको, समुदायको मतलब हुन छोड्छ। भौतिक, सामाजिक र राष्ट्रिय रूपमा एक्लिँदा, मूल कुरा त मनोवैज्ञानिक रूपमा एक्लिन्छौंहामी।  

तँ खतरामा छस् भनेपछि समूह निर्माण हुने कुरा भएन। सामूहिक भावना खतरामा हुन्छ। म जोगिएँ भने मेरो समुदाय जोगिन्छ भन्ने आधारमा मान्छे कोठामा एक्लै बस्न खोजिराको छ। तर, ऊ एक्लै कोठामा गुम्सिरहँदा उसको समुदायमा के भइरहेको छ भन्ने चासोकम हुन्छ। मान्छेले समुदायको महत्व कम देखेर राज्यलाई मात्र उद्धारकर्ता देख्न सक्छ। सदीयौंदेख भनिँदै आएको मानिस सामाजिक प्राणी हो भन्नेमा प्रश्न उठ्छ। कोठामा बसिराख्दा ‘वसुधैव कुटुुम्बकम्’ भन्ने भावना कमजोर हुँदै जान्छ। 

हिजो भैंचालोमा छिमेकी थ्रेट थिएन, सहयोगी थियो। एउटै पालमुनि बसिन्थ्यो। अब अहिले छिमेकी मास्कविना भेटियो भने त्यो थ्रेट भयो। मान्छे नै मान्छेको थ्रेट। अब अमूर्त राज्य जुन मेरो छेउमा पनि छैन, उसको भर पनि छैन। तर, अब उसकै मात्र शरण पर्ने अवस्था देखिँदो छ। यो नागरिकको निरीहता र राज्यको बाहुबली, राम्रो लक्षण होइन।
सारा नागरिक आफ्नै भरमा बाँचेका छन् भन्ने लागेपछि राज्यको महत्वपूर्ण संस्था सरकारलाई आफू शक्तिशाली भएको भ्रम हुन्छ। अनि उसले नागरिक स्वतन्त्रता कुण्ठित गर्न पनि पछि पर्दैन। 

अहिले सबैभन्दा निरीह कोही छ भने नागरिक छ। एकातिर ग्लोबल संगठन कमजोर भएका छन्। अर्काेतिर राज्य बलियो भएको (भ्रममा) छ। राज्यको दायित्व भनेको नागरिकको सुरक्षा हो नै। तर, सुरक्षा दिने नाममा तिमीहरू भित्रै बस, चुपचाप बस भनेर उसले नागरिकलाई नै शोषण गरिरहेको त छैन ? नागरिकको करकै दुरुपयोग गरिरहेको त छैन ? यस्तो महामारीका बेला यस्तो सोच्नु पाप हो भन्ने मानसिकताबाट हामीलाई नै हेजिमोनाइज्ड त गरिरहेको छैन ? यो विचार गर्नुपर्ने कुरा हो।

राज्य बलियो हुँदै जाँदा वैश्वीकरण र नागरिक दुवै कमजोर हुँदै जान्छन्। नागरिक, राज्य र वैश्वीकरण, अब यी तीनै मूल शक्ति बराबर सक्रिय हुनपर्ने हो तर स्थिति यस्तो देखिँदै छैन।
एउटा उदाहरण हेरौं, चीनबाट जर्मनीले खरिद गरेको मास्कलगायतका मेडिकल उपकरणहरूबीचैमा हरायो। अमेरिकाले उडायो भन्ने आरोप छ।यस आधारमा यो महाव्याधिका कारण वैश्वीकरण अब एक ठाउँमा पुगेरतीव्र गतिमा ओरालो लाग्दै छ। चार-पाँच वर्षयता संसारका धेरै देशमा उदाएका संकीर्ण राजनीतिक शासकका कारण आरोलो लाग्दै गरेको वैश्वीकरणमा अब यो महामारीले घिउ थपिदिएको छ। 

अमेरिकाजस्तो आफूलाई सुपरपावर भन्ने शक्तिसित न्युयोर्क सिटीलाई पुग्ने भेन्टिलेटर पनि रहेनछ। विश्व उदारीकरणमा गएपछि, चीन पनि आर्थिक उदारीकरणमा गएपछि चीनले धेरै मेडिकल प्रविधि बनाउन थाल्यो। यो वैश्वीकरणले नै सम्भव भएको हो। आज चीनले जति पनि औषधिमुलोदेखि औद्यागिक उपकरणहरूनिर्माण गरिरहेको छ, ती चीनमै प्रथम आविष्कार भएका हैनन्। युरोप, अमेरिकातिरका वा जापान, भारततिरका भनिने ब्रान्ड पनि चीनमै बन्छन् र संसारभरि पुग्छन्। यो वैश्वीकरण र उदारीकरणकै परिणाम हो। अब देशले पहिला मलाई चाहिन्छ भन्ने सोच्छन्। मुठी कस्छन्। यसबाट सबभन्दा बढी असर पर्ने भनेको आयातमुखी कमजोर र सानो अर्थतन्त्र भएको नेपालजस्ता देशलाई नै हो। 

यसलाई अर्काे कोणबाट हेर्दा अब धेरैजसो मुलुकले आफूलाई चाहिने मेडिकल उपकरणदेखि अत्यावश्यक सामग्री आफैँ उत्पादन र भण्डारण गर्न थाल्छन्। विज्ञान, प्रविधि, औषधिमुलो, पूर्वाधारका सामानहरू अब हामीले हाम्रै देशमा बनाउनुपर्छ, उत्पादन गरे पनि यता नपुगी बाहिर धेरै पठाउनुहुन्न भन्ने विचार प्रबल भएर आउँछ। 

यो अवसर पनि हो, चुनौती पनि। नेपालको योजना र सामथ्र्य बलियो नदेखिएको र तत्कालै देखिने सम्भावनापनि नभएको हुँदा यहाँको ‘अथाह स्रोत र साधन’ले मात्र हामीलाई बचाउन सक्नेछैन। किन यस्तो निराशाजनक पनि भन्नुहोला। अझै केही दशक हाम्रो देशको साधन-स्रोत-सत्तामा यिनै राजनीतिक नेतृत्व नै हुने देखिन्छ, राष्ट्रिय-अन्तर्राष्ट्रिय खराब मौसम हेर्दा पनि। 

बेलायतको उदाहरण लिऊँ। त्यहाँको स्वास्थ्य व्यवस्थालाई निजीकरण गर्नुपर्छ भन्ने चर्चा ठूलै आवाजमा चलिरहेको थियो। तर, बेलायतले निजीकरण गरेन। अहिले कोरोना भाइरसले स्वयं ग्रस्त भएका बोरिस जोन्सनजस्ता प्रधानमन्त्री आउँदा पनि उनले स्वास्थ्यलाई निजीकरण गर्न सकेनन्, गरेनन्। अमेरिका वा अरूतिर हाहाकार हुँदा बेलायतमा तुलनात्मक रूपमा स्वास्थ्य सेवा प्रभावकारी देखिएको छ। अब यसले यस्ता कुरामा वैश्वीकरणभन्दा राज्य अगाडि हुन्छ कि भन्ने देखिन सक्छ। अब उत्पादक देशलाई पनि अन्तर्राष्ट्रियभन्दा राष्ट्रिय बजार तयार गर्नुपर्छ भन्ने लाग्छ। ग्लोबलाइजेसन कमजोर हुनेबित्तिकै राष्ट्रिय दायित्व र फूर्ति बढ्छ। 

हिजो जसरी घुमफिर सजिलो थियो, अब त्यति सजिलो हुँदैन होला। अध्ययन, श्रम वा अन्य कुरामा सपनाको जुन उडान थियो, यसमा संकुचन आउँछ। प्रगतिको कुनै सीमा छैन भन्दै संसार विचरण गर्ने जुन स्वाभाविक मानवीय प्रवृत्ति छ, यसमा अवरोध आउन सक्छ। अब ऊ बिरामी हो कि हैन, संक्रमित हो कि हैन, कुन औषिध खाएको थियो भनेर उसको हेल्थ हिस्ट्री सजिलै लिइन्छ। अबको प्रविधि कामलाग्दो पनि छ तर उत्तिकै जोखिमपूर्ण पनि। यसले धेरै नियन्त्रण गरेको छ। यो प्रविधिलाई कसैले चलाइरहेको छ, हामी त उपभोक्ता मात्र हौँ। 
व्यक्तिको स्वतन्त्रता नराम्रोसित कुण्ठित हुन सक्छ यस्तो अवस्थामा। 

पर्यटनबाट प्रचुर लाभ लिने भनेर हामीकहाँ यसमै आश्रित ठूलो जनसंख्या छ, यतातिरको जोखिम पनि बढेको छ। अझ बढ्ने देखिन्छ।यस्तो महामारीका बेला सबैजसो देशले आफ्नै नागरिकलाई मात्र ध्यान दिइरहेका बेला,संसारभर धेरै संख्यामा रहेका शरणार्थी तथा घरबारविहीन मानिसतिर ध्यान गएको छैन। यस्तोमा ध्यान दिन ग्लोबल संगठन बलियो हुनुपर्छ। संयुक्त राष्ट्र संघजस्ता संगठनले पनि पछिल्लो समय कुनै विधिविधान बनाएका छैनन्, केवल केही दस्तावेज र मार्गदर्शन मात्र। यस्तोमा शरणार्थीबारेको चिन्ता लिन, अग्रसरता लिन वैश्विक सोच चाहिन्छ। तर, यो कुण्ठित हुँदै छ। 

पछिल्लो समय हाम्रो कूटनीति पनि खुम्ँिचदो थियो। हामी छिमेकीबाट बाहिर निस्किन नसकेको, एक खालको आत्मरतिमा रमाइरहेको, आफू बीचमा छु भन्दैमा तिनीहरूको ‘केन्द्र’मा पनि छु भन्ने सोच थियो-छ। यो उदेकलाग्दो छ। अब सबै देशले मुठी कस्ने अवस्थामा उसै पनि बेवास्ता र हीनतामा फसेका हामी थप ‘आइसोलेसन’मा पर्ने सम्भावना पनि उत्तिकै छ। विश्व रंगमञ्चबाट देश नै लामो समय ‘क्वारेन्टिन’मा बस्नुपर्दा आयातमा निर्भर देशको प्रतिरोधी क्षमता कमजोर हुन सक्छ।

महामारीले वैश्विक रूपमै लोकतन्त्रमा संकुचन ल्याउँछ भन्ने कुरा अन्तमा म फेरि दोहोर्‍याउन चाहन्छु। नागरिकका सहभागितामूलक अधिकार संकुचित हुने देखिन्छ। जुन यहाँ मात्र हैन, अरू देशमा पनि सुरु भइसकेको थियो। लोकतन्त्र र खुला समाजलाई यसले अवरोध गर्छ। प्रगतिशील कुरा गर्ने तर सामाजिक संकीर्णताको कुरा गर्नेशासकीय शैली र स्वभाव बढ्दो थियो। अझ बढ्छ। ‘एकलकाँटे र आत्मपूजक व्यक्ति (शासक)’ले देशलाई थप आइसोलेसनमा पुर्‍याउने हुँदा नागरिक, नागरिक समाज, समुदाय चनाखो हुनुपर्छ। 

संकटलेजहिले पनि नयाँ अवसर सँगैसँगै लिएर आउँछ।निरंकुश बजार पनि हैन र निरंकुश राज्य पनि हैन। चाहिएको के हो त भन्दा सामाजिक दायित्वसहितको स्वतन्त्रता। हुनुपर्ने ग्लोबल थिंकिङ हो। तर, अवस्था न्यासनल थिंकिङतिर झर्दाे छ। 
भाइरसको महामारीपूर्ण गाडी तीव्र गतिमा कुदिरहेको छ। गाडी मोड्न समय र फराकिलो स्थान चाहिन्छ। यो आफैं आउने हैन, हामीले ल्याउने वा मिलाउने हो। 
प्रस्तुति  : विमल आचार्य 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.