ललितपुर महालक्ष्मीबाट ७० जनाको नमुना टेकु पठाइयो, ९ जना आइसोलेसनमा
ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकाले ७० जनाको थ्रोट स्वाब परीक्षणका लागि पठाइएको छ । बिदेशबाट आएर आफै क्वारेन्टाइनमा बसेकाहरुको कोभिड-19 परीक्षण गर्न लागिएको नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले जानकारी दिएका छन् । सरुवा रोग नियन्त्रण महाशाखाको संयोजकत्वमा स्वास्थ कार्यालय ललितपुरले परीक्षणको व्यवस्था गरेको हो । चैत्र २७ र २८ गते लुभु प्राथमिक स्वास्थ केन्द्रमा ४० र इमाडोल हेल्थ पोस्टमा ३० गरी जम्मा ७० जनाको थ्रोट स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको श्रेस्ठले बताए ।
'यसले बिदेश बाट आएकाहरुमा रहेको शंका, उपशंका हटेर जान्छ' उनले भने 'साउदी, जापान, बाङ्लादेश, भारतलगायत थुप्रै मुलुकबाट फर्किएका छन् ।' तर जिल्ला प्रशासन कार्यालय ललितपुरको तथ्यांक अनुसार यस अवधिमा १५२ जना नागरिक मात्र नेपाल आएको देखिन्छ।
सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार २७ जना हवाइ मार्ग र १२५ जना गाडीबाट आएको देखिएको छ । स्थानीय तहले उचित तथ्यांक नदिएको र वास्तविक विवरण पठाउन निर्देश गरिसकेको प्रजिअ भुसालले बताए । हाल ललितपुरमा कोरोना आशंकामा ९ जना आइसोलेसनमा बसिरहेको उनले जानकारी दिए। पाटन अस्पतालमा सात र बल्खु स्थित स्टार अस्पतालमा दुई जना आइसोलेसनमा रहेका छन ।