युवासंघका उपाध्यक्षले दिए घरभाडा छुट
परासी : उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीका उद्योग उपाध्यक्ष नगेन्द्र अग्रहरीले घरभाडामा बस्दै आएका ९ जनालाई २ महिनाको घरभाडा छुट दिएका छन् । परासी सदरमुकाममा घर भएका उनले मासिक ९ हजारमा विभिन्न पसल व्यवसाय गर्ने व्यवसायी र संस्थालाई घर भाडा दिएका छन् ।
‘लकडाउनले पसल बन्द भएका कारण व्यवसायीलाई आर्थिक सहयोग पुग्ने भएकाले चैत र बैशाख महिनाको घरभाडा छुट दिएको हुँ ’, उनले भने । घरभाडा वापत मासिक ५० हजारका दरले दुई महिनाको १ लाख छुट दिएको उनले जानकारी दिए ।
रामग्राम नगरपालिकामा सञ्चालित आरती एग्रो इण्डष्ट्रिजका सञ्चालकसमेत रहेका अग्रहरीले सुनवल नगरपालिकाले स्थापना गरेको दैविक प्रकोप आकष्मिक कोषमा १ लाख २० हजार जम्मा गरेका छन् । लकडाउनले दैनिक मजदुरी गरेर खाने वर्ग मर्कामा परेकाले नगरपालिकाले वितरण गर्ने राहतमा सहयोग पुग्ने उद्देश्यले रकम उपलब्ध गराइएको उनले बताए । नगरपालिकाले स्थापना गरेको कोषमा अहिलेसम्म विभिन्न संघसंस्था र व्यक्तिबाट ४६ लाख राहत रकम संकलन भएको नगर प्रमुख भीमबहादुर थापाले जानकारी दिए ।