नेपाल र पाकिस्तानलाई जोडेर कोरोनाबारे अफवाह फैलाउँदै भारतीय मिडिया
काठमाडौं : भारतका केही मिडियाले कोरोना भाइरसबारे गलत प्रचारवाजी गरिरहेका छन् ।
केही चर्चित मिडियाले समेत नेपाल र पाकिस्तानले कोरोना भाइरस भारतमा फैलाउन थालेको भन्दै गलत प्रचारवाजी गरिरहेका छन् । शुक्रबार मात्रै जी न्युजले पर्साका गाउँपालिका जनप्रतिनिधिलाई आरोप लगाउँदै ‘कोरोना बम’ भारतमा पठाएको आरोप लगाएको थियो । जी न्युज भने यसअघि पटक पटक महत्वपूर्ण र गम्भीर विषयमा पनि फेक न्युज प्रशारण गर्दै विवादमा तानिँदैआएको छ ।
शनिबार अन्य केही च्यानलले ‘पाकिस्तानले नेपालबाट सयौँ कोरोना संक्रमितलाई भारत पठाएको’ आरोप लगाएका छन् । मुस्लिम संक्रमितहरुलाई नियोजित रुपमा पाकिस्तानले भारत छिराउन खोजेको भन्दै ती मिडियाले अफवाह फैलाएका हुन् ।
‘ग्लोबल भिलेज स्पेस’ नामको अनलाइन पोर्टल, टाइम्स नाउ टिभी च्यानल लगायत केही मिडियाले यस्तो अफवाह फैलाएका हुन् । ग्लोबल भिलेज स्पेसले विना स्रोत पाकिस्तानी सेनाले महामारीको फाइदा उठाउँदै नेपाली संक्रमितलाई भारत छिराएर आक्रमण गर्ने योजना बनाएको उल्लेख गरेको छ ।
महामारीका बेला पाकिस्तानबाट यस्तो आक्रमण हुने भन्दै भारतीय पक्ष चिन्तित रहेको ती मिडियाको जिरह छ । तर भारतीय पक्षबाट केही विज्ञप्ति सार्वजनिक भएको छैन । ‘फेक न्युज’ प्रशारण गर्ने त्यस्ता मिडियाबारे भारत सरकारले भने कुनै चासो देखाएको छैन ।
यससँगै फेक न्युज फैलाउने भारतीय मिडियालाई लक्षित गर्दै ट्वीटर तथा फेसबुक लगायत सामाजिक सञ्जालमा ‘रीपइन्डियनमिडिया’ नामको ह्यासट्याग पनि सुरु भएको छ । गलत समाचार फैलाएको विरोध स्वरुप सामाजिक सञ्जालमा यस्तो अभियान चलाइएको हो ।