कपिलवस्तुका सबै क्वारेन्टाइनमा कोरोना र्यापिड टेष्ट शुरु
कपिलवस्तु : जिल्लाका सबै क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमा कोरोना भाइरस कोभिड-१९ को संक्रमण भए/नभएको चेक जाँचका लागि र्यापिड टेस्ट शनिबारबाट शुरु गरिएको छ। प्रदेश नम्बर ५ सरकारबाट कोभिड डाईग्नोटीस्ट टेस्ट किट जिल्लामा आएपछि र्यापिड टेष्ट शुरु गरिएको हो।
टेस्टका लागि जिल्लाका २० जना ल्याबका कर्मचारीहरुलाई तालिम दिइएको छ। उनीहरुले नै जिल्लाका १० वटै तहमा निर्माण गरिएको क्वारेन्टाइनमा रही २ हप्ता विताएका सर्वसाधारणको टेष्ट गर्न शुरु गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए। यसरी गरिने टेष्टको परिणाम २० मिनेटभित्र देखाउने स्वास्थ्यकर्मीहरुले बताए। टेष्टपछिको परिणाममा पोजेटिभ देखिए थप टेष्टका लागि भैरहवास्थित प्रदेश सरकारले स्थापना गरेको ल्याबमा नमूना पठाइने स्वास्थ्य कार्यालयका प्रमुख भगतले बताए। उनका अनुसार भैरहवास्थित ल्याबमा पिसीआरबाट परिक्षण गरिन्छ।
प्रदेशबाट र्यापिड टेस्टका लागि जिल्लामा ७ सय थान किट पठाइएको छ। क्वारेन्टाइनमा रहेका सवैको र्यापिड किटबाट तत्काल परीक्षण शुरु गरिए पछि नेगेटिभ परिणाम देखिएकाहरुलाई क्रमश क्वारेन्टाइनबाट विदा गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाका १० वटा स्थानीय तहमा रहेका क्वारेन्टाइनहरुमा ९ सय ८२ वेड छन्। शनिवार साँझ सम्म कुल ८ सय ५० विरामी क्वारेन्टाइनमा बसेकोमा २ सय ६६ जना डिस्चार्ज भई गएको र बाँकी ५ सय ८४ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज शैनीले बताए। कपिलवस्तु अस्पतालमा ८ बेडको आइसुलेसन वार्ड स्थापना गरिएको छ। सो वार्डमा भर्ना भएका एक जनाको मृत्यु भएको र उनको रिर्पोट नेगेटिभ रहेको थियो।