जाजरकोटमा १४ जनाको कोरोना रिपोर्ट 'नेगेटिभ'
जाजरकोट : जाजरकोटबाट स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएका १४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सदरमुकामस्थित त्रिभुवन माविको क्वारेन्टाइनमा बसेका र अन्य होम क्वारेन्टाइनमा बसेकाबाट १४ जनाको कोरोना संक्रमण परीक्षण गर्न जाजरकोटबाट पहिलो पटक स्वाब संकलन गरी बिहीबार सुर्खेत पठाइएको थियो । परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका महामारी फोकल व्यक्ति तथा ल्याब टेक्निसियन कृष्णबहादुर खत्रीले बताए।
सुर्खेतबाट आएको स्वास्थ्यकर्मीको टोलीले भेरी नगरपालिकाको क्वारेन्टाइनमा बसेका २ जना, भारत तथा तेस्रो मुलुकबाट आएका १२ जनाको स्वाब संकलन गरेर लगेको थियो । विदेशबाट आएका तथा मिल्दोजुल्दो लक्षण देखिएकाहरूको स्वाब संकलन गरिएको थियो ।स्वाब संकलन गरिएका मध्ये २ जना मात्र क्वारेन्टाइनमा बसेका हुन् । जिल्लामा स्वाब संकलन गर्ने जनशक्ति र आवश्यक उपकरण नहुँदा सुर्खेतबाट आएको प्राविधिक टोली आफैले संकलन गरेर लगेको थियो ।
स्वाब संकलनका लागी प्रदेश अस्पताल सुर्खेतबाट आएका ल्याव टेक्निसियन भरत देवकोटा नेतृत्वले जाजरकोट अस्पतालका ल्याव टेक्निसियनहरुलाई संकास्पदको नुमना संकलन गर्ने तरीका समेत सिकाएर गएको छ । स्वाब संकलनका लागि आवश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) समेत छोडेर गएका छन् ।
अहिले परीक्षणका लागि २० वटा भिटिएम छन् । स्थानीय तहसँग समन्वय गरेर तत्काल थप संकास्पदको स्वाब संकलन गरी सुर्खेत पठाउने गरेको जिल्ला अस्पतालका ल्याब टेक्निसियन तथा महामारी फोकल व्यक्ति खत्रीले बताए ।
जिल्लामा भारतलगायतका तेस्रो मुलक र देशका विभिन्न सहरबाट लकडाउनको अवधिमा करीब पाँच हजार मानिस जिल्लामा भित्रिएकोले स्वाब संकलन र परीक्षणको दायरा बढाउन जिल्लाबासीले माग गरेका छन् ।