सिजनमा लकडाउन, निशुल्क साग वितरण गर्दै किसान

सिजनमा लकडाउन, निशुल्क साग वितरण गर्दै किसान

ताप्लेजुङ : भालुगौंडेका विष्णु पौडेलले गत वर्ष यो सिजनमा चार लाख १५ हजार रुपैयाँको रायोको साग बेचेका थिए । पाथीभरा क्षेत्रको सेवारोचोकदेखि फेदीसम्मका होटल उनको सागको बजार थियो । पाथीभरा जाने तिर्थयात्रीका लागि खुलेका यहाँका होटलको माग धान्न सकेनन् । र, यस वर्ष ६ रोपनी बढी बारीमा साग रोपे । कम्तिमा पाँच लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य थियो उनको। 

समय पौडेलले सोचेजस्तो भएन । कोरोना भाइरसको महामारीका कारण मुलुक लकडाउन भयो । पाथीभरामा तिर्थयात्री आउन पाएनन् । हुर्किएको साग बिक्री गर्ने बेलामा प्रत्येक होटलमा ताला लाग्यो । मिहेनतले लगाएको साग खेर जाने भएपछि पौडेलले फुङलिङ बजारमा निःशुल्क वितरण सुरु गरेका छन् । 

'शनिबार १५ सय मुठा वितरण गर्‍यौं,' पौडेलले भने, 'तीन भागको एक भाग पनि सकिएको छैन, लकडाउन लम्बिए अझै ल्याएर बाँड्ने योजना छ ।'

फेदी प्रहरी चौकी र पाथीभरा समितिले बाँड्न सहजिकरण गरेका छन् । 'साग टिप्न, मुठा बनाउन, सडकमा निकाल्न, गाडीमा लोड गर्न, ढुवानी र वितरणमा हामी पनि खटियौं,' समितिका सदस्य गोपाल न्यौपानेले भने । 

यहाँका तीन दर्जन होटल व्यावसायी र सोही संख्यामा विष्णुजस्ता कृषक पाथीभरामा आश्रित छन् । लकडाउनको प्रभाव सबैमा उत्तिकै परेको छ । बसन्त र शरद् ऋतु पाथीभरा जाने मुख्य सिजन भएपनि पाथीभरामा बाह्रै महिना तिर्थयात्री आउने गरेका छन् ।  एकै दिन १३ हजारसम्मले दर्शन गरेको तथ्याङ्क समितिसँग छ। 

यीमध्ये ८० प्रतिशत पाथीभरा क्षेत्रको काफ्लेपाटीदेखि माथिल्लो फेदीसम्म बस्ने गर्थे। नेपाललगायत भारतको सिक्किम, पश्चिम बङ्गाल, विहार, उत्तर प्रदेशसम्मका पर्यटकले होटल भरिभराउ हुन्थे । अहिले फुङलिङदेखि पाथीभरासम्मको वन क्षेत्र अहिले गुराँस फुलेर राताम्मे छ । तर, त्यो फुलको सौन्दर्यतामा रम्ने पर्यटक शून्य । 

प्रत्येक होटलहरु बन्द रहेको फेदीका व्यावसायी इन्द्रनारायण भट्टराईले बताए । 'फुङलिङ बजारबाट खाद्यान्न लगायतका सामान ढुवानी गरेर पर्यटकको सत्कारका लागि तयारी अवस्थामा रहेका बेला लकडाउन भयो,' उनले भने, 'घरमै सुरक्षित भएर बसिरहेका छौं ।'

काफ्लेपाटीका देउमान लामाले बिक्रीका लागि ठिक्‍क पारेको छुर्पी र पूजा सामग्री थन्क्याइसके । चिसोले नबिग्रियोस् भनेर माथिल्लो तलामा न्यानो गरी राखेका छन् । पहिलो र दोस्रो तलामा चामलका बोरा । कोरोना भाइरसको महामारी चाँडो समाप्त होस् भन्ने कामना उनको छ । भने, 'बाँचे व्यावसाय पछि पनि गरौंला, अहिले कसरी हुन्छ सबैजना जीवन बचाउन लाग्नुपर्छ ।'  आफूहरु स्थानीयलाई घर भित्रै बसेर, सरसफाइमा ध्यान दिएर लकडाउनको पालना गर्न आग्रह गरिरहेको प्रहरी चौकीका इञ्चार्ज धनरान तुम्बापो बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.