गाउँमा छैन लकडाउन
जाजरकोट : कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै देशभर लकडाउन गरिएको छ । तर जाजरकोटका ग्रामीण भेगमा मानिसहरुको चहलपहल बढ्न थालेको छ । लकडाउन खुकुलो बन्दै गएपछि स्थानीयको आउजाउ पनि बढेको हो । विदेशबाट आएकाहरु १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्दा पनि आफुहरुलाई कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै गाउँ घुम्न थालेपछि अन्य स्थानीयवासी पनि घर बाहिरका काममा निस्कन थालेका हुन् ।
नलगाड नगरपालिका १२ का मोहन बस्नेतले गाउँमा लकडाउनको प्रभाव कम हुँदै गएको बताए । ‘देशभर लकडाउन गरिएको दुई हप्तासम्म यहाँका स्थानीय पनि निकै डराएका थिए । घरबाहिर खासै निस्कदैन्थे । तर जिल्लामा कोरोनाको लक्षण नदेखिएको भन्दै दैनिकी काममा निस्कन थालेका छन् ।’ उनका अनुसार गाउँमा किसानहरु खेतीपाती गर्न थालेका छन् । भने सामुहिक रुपमा काम गर्ने, मलामी जाने, जुवातास खेल्ने, माछा मार्ने लगायतका कार्य सुरु भएका छन् ।
हालै जाजरकोटबाट संकास्पद १४ जनाको स्वाब रिपोर्ट नेकेटिभ देखिएपछि स्थानीयमा कोरोनाबारे मनोबल बढेको हो । घरपरिवार र समाजमा घुलमिल हुन थालेको भेरी नगरपालिका–१ का वडाध्यक्ष दीपक रानाले बताए । गाउँमा गहँु, जौ, मसुरो, चनालगाएतका हिउँदे बाली भित्र्याउने बेला भएकोले भीँडभाड नगररे सामाजिक दुरी कायम गर्दैै काम गर्न थालिएको उनको भनाइ छ ।
जिल्ला सदरमुकाममा प्रहरीले मानिसलाई भीडभाड गर्न दिएको छैन । तर गाउँघरमा भने प्रहरी प्रशासन नहुँदा स्थानीयकै मनोमानी चलेको नलगाड–८ का वडाध्यक्ष गोविन्द शाहीले बताए । भारत र खाडी मुलुकबाट गरी दुई सय ५८ जना जाजरकोट भित्रिएका थिए । उनीहरु कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन ।