लकडाउनमा ‘पिकनिक’ !
प्यूठान : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) फैलिने त्रासमा लकडाउनले मुलुक ठप्प छ।
सरकारले घरभित्रै बसेर सुरक्षित हुन आग्रह गरिरहेको छ। कुनै पनि सार्वजनिक सभा, भेला गर्न पूर्ण रुपमै बन्देज लगाइएको छ। तर, गुल्मीको मदाने गाउँपालिका १ अग्लुङका युवाले लकडाउनको उल्लघंन गरेका छन्।
नयाँ वर्ष २०७७ सालको पहिलो दिन अग्लुङस्थित झिगनपानीका युवा भेला भएर सार्वजनिकस्थलमा पिकनिक कार्यक्रम गरेका हुन्। गाउँका १६ युवा पिकनिक गएर लकडाउन उलंघन गरेका हुन्। सामाजिक दुरीलाई समेत ख्याल नगरी युवाले पिकनिक खाएका तस्बिर सार्वजनिक भएका छन्।
सार्वजनिक रुपमै भेला भएर पिकनिक गर्दासमेत गाउँपालिका र वडाका जनप्रतिनिधि एवं कर्मचारीले यसलाई नियन्त्रण नगरेको स्थानीयवासीको गुनासो छ। प्रहरी प्रशासनसमेत यसबारे बेखवर छ। ‘झिगनपानीका युवा नयाँ वर्षका दिन पिकनिक खान गएको आज मात्रै थाहा भयो’, वडा अध्यक्ष प्रेमचन्द बोहोराले भने,‘उनीहरुलाई सम्पर्क गरिरहेको छु, तर सम्पर्क हुन सकेको छैन् ।’
साविकका ९ वटै वडामा टोल समिति गठन गरेर कोरोना नियन्त्रणका कार्यक्रम भइरहेका बेला गाउँका युवाले गरेको यस्तो कार्यले आफूलाई दुखी बनाएको उनले सुनाए। नयाँ वर्षका दिन आफू अग्लुङफेदी बजार गएकाले केही जानकारी नभएको समेत उनले सुनाए।
टोल समितिमै आवद्ध युवाले नियम उल्लंघन गरेको पाइएको समेत उनको भनाइ छ। चन्दका अनुसार प्रत्येक टोलमा तीन÷तीन जनाको समूह बनाएर कोरोना नियन्त्रणका कार्यक्रम युवा मार्फत भइरहेका छन्।
गाउँपालिका केन्द्र पुर्कोटदहदेखि अग्लुङ टाढा पर्ने भएकाले यसबारे आफूलाई कुनै जानकारी नभएको इलाका प्रहरी कार्यालय पुर्कोटदहका इन्चार्ज प्रहरी निरीक्षक पंकज चुँदालीले जानकारी दिए।