'बेलायतबाट फर्किएकालाई साताअघि मात्रै भेट्यौं'
ललितपुर : बेलायतबाट फर्किएर कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएकाहरूबारे सातापहिले मात्र जानकारी मिलेको वडा कार्यालयले जनाएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले विदेशबाट आएकाहरूको खोजी गरेपछि उनीहरूबारे जानकारी आएको वडा नं ९का वडाध्यक्ष कुन्दन खड्काले बताए।
सनसिटी अपार्टमेन्ट सोसाइटीसँग सम्पर्क गर्दा पाँच जना विदेशबाट आएको जानकारी मिलेको बताउँदै उनले भने, ‘उहाँहरू आएदेखि कसैको सम्पर्कमा नरहेको र क्वारेन्टाइनमा बसेको बताउनुभएको छ’, ‘तर सातापहिले भएको सनसिटी सोसाइटीको चुनावमा भाग लिएको देखिएको छ।’
विदेशबाट फर्किएपछि उनीहरूले प्रहरी तथा वडा कार्यालय कतै जानकारी नगराएको पाइएको खड्काले जानकारी दिए। यसअघि वडाले १ र २ गते र्यापिड टेस्ट गर्ने बेलामा उनीहरू आफैं सवारी चलाएर मूलपानी स्वास्थ्य केन्द्र पुगेका थिए। बैशाख १ गते उक्त केन्द्रमा ३६ जनाको स्वास्थ्य परीक्षण भएको थियो। तीमध्ये तीन जनाको रिपोर्ट पोजेटिभ आउने बित्तिकै पाटन अस्पताल पुर्याइएको खड्काले बताए।
कोरोना परीक्षण गर्दा ८१ वर्षीया वृद्धा र ५८ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सँगै आएकी अर्की महिलाको रिपोर्ट भने सामान्य छ। उक्त वडामा विदेशबाट आएका अन्य दुई जनाको रिपोर्ट पनि सामान्य रहेको खड्काले जानकारी दिए। पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार अहिले तीनै जनाको अवस्था सामान्य छ। ‘कोरोना लाग्यो भन्दैमा एकदम सिकिस्तै हुन्छ भन्ने हुँदैन, उहाँहरू सामान्य अवस्थामा हुनुहुन्छ’, उनले भने। उनीहरूलाई आफन्तले सुत्केरीका बेला बेलायत झिकाएको बुझिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईले बताए।
उनीहरू बेलायतमा एक महिना बसेर चैत ५ गते कतार एयरवेज हुँदै नेपाल आएका थिए। तर, नेपाल आएको २६ दिनपछि मात्र कोरोना संक्रमण देखिएको छ। उनीहरू बस्ने अपार्टमेन्टमा दुई जना सहयोगी र एउटा कुकुर पनि रहेको खबर प्राप्त भएको वडाध्यक्ष खड्काले बताए।