लकडाउनमा लेखकका दिनचर्या
काठमाडौं : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर एक लाख २० हजारभन्दा बढीले ज्यान गुमाइसके। संक्रमणको जोखिमको डरले नेपालमा पनि विगत २३ दिनदेखि लकडाउन गरिएको छ।
लकडाउनको अवस्थामा कलाकार, दर्शक, चित्रकार, नेता, मन्त्री, सबैजना होम क्वारेन्टाइनमा छन्। लामो समय घरभित्रै बस्दा के गर्दैछन् त लेखक, साहित्यकार? हामीले उनीहरूको अनुभव समेटेका छौं।
युवा लेखक उज्ज्वल प्रसार्इं लकडाउन सुरु हुनुअघि नै परिवारसहित झापाको काँकडभिट्टा घर पुगेका थिए। घरमा ससाना नानी भएकाले उनीहरूको बालसुलभ हर्कत, चकचक, गनगन, हाँसो नजिकबाट नियालिरहेका छन्। लकडाउनको समयमा जिम्मा लिएका काम सक्ने र नभ्याएका काम गरौंला भनेर योजना बनाएका थिए उनले। तर योजनाअनुसारको मेलो सरेन। महामारीसम्बन्धी समाचार, लेख, वैज्ञानिक खोजका केही लिखतको अध्ययन गरे। भाइरससम्बन्धी गहिरो अध्ययन गरे। मान्छे र प्रकृतिको सम्बन्धबारे आलेख खोजीखोजी अध्ययन गरिरहेका छन्।
पुँजीवाद, भूमण्डलीकरणजस्ता विषयमा अधिक खोजी गरेका प्रसाईंले महामारी र लकडाउनले अप्ठ्यारोमा परेका मानिसका लागि केही गर्न नसकेकोमा दुःखी भएको अनुभव सुनाए। महामारीका बेला झुटा समाचारको भयले जनता बढी त्रसित भएकाले सत्य तथ्य समाचार मात्रै हेर्न उनले अनुरोध गरे।
युवा लेखक तथा स्तम्भकार युग पाठक लकडाउनको समयमा सीतापाइलास्थित घरमै छन्। अध्ययन, चिन्तन, लेखन र सामाजिक अभियानमा सक्रिय पाठकले यसअघि पनि अध्ययन गर्ने समयमा आफूलाई धेरैपटक लकडाउनमै राखेको बताए। उनी भन्छन्, 'मेरो कामको प्रकृति नै घरभित्र बसेर गर्ने भएकाले घरमा बस्न खासै सकस भएको छैन। तर संसारले भोगिरहेको कोरोना महामारीको संकट, त्रास र डरले द्रुत गतीमा काम अघि बढ्न नसक्ने रहेछ। व्यस्तताका कारण धीत मरुन्जेल पुस्तक पढ्न नपाएकाले विश्व राजनीति, अर्थव्यवस्था, इतिहास र पुँजीवादजस्ता विषयमा अध्ययन गरिरहेको छु।' उनले आफूलाई पत्रपत्रिकामा लेख लेख्ने, सिनेमा हेर्ने तथा गीत सुन्नेलगायतका काममा व्यस्त राखेको बताए।
घरको काम सघाउने, परिवारसँग समय बिताउने, चेस खेल्ने तथा विभिन्न अन्तर्राष्ट्रिय समाचार अपडेटमा छन् उनी। संकटमा परेका व्यक्तिका लागि सामूहिक पहल आवश्यक रहेको बताउने पाठक आफूले सकेको ठाउँमा सहयोग गर्नुपर्ने धारणा राख्छन्।
लेखक तथा महिला अधिकारकर्मी रीता शाह भन्छिन्, 'लकडाउनको समयमा पुस्तक पढ्ने, लेख्ने, महिला हिंसाका घटनाको अभिलेख राख्ने तथा महिला अधिकारकर्मीसँग इमेल तथा भच्र्युअल मिटिङ गरिरहेकी छु। पढ्ने सबालमा दिनको चार पाँच पटक विभिन्न अनलाइन पोर्टल र पत्रिका हेर्र्छु। कोरानासम्बन्धी समाचार र विश्लेषण पढ्छु। साँझ एक घण्टा टेलिभिजन हेर्छु। लकडाउन सुरु भएदेखि अहिलेसम्म ७-८ वटा पुस्तक पढिसकें। जसमध्ये त्यस बखतको नेपालको पाँचै भाग, डा.सन्दुक रुइतको जीवनी, सत्यजित रेका कथा पढें। डा. राजेश गौतमको 'राणाकालीन नेपालको प्रशासनिक, शैक्षिक र सामाजिक सुधारहरू' पुस्तक पढ्दैछु। पुस्तकबाट आफूलाई काम लाग्ने बुँदा टिपोट गरेर राख्ने गरेकी छु।'
'मनोरञ्जनका लागि पुराना हिन्दी आर्ट मुभी, हिन्दी गीत तथा मोटिभेसनल भिडियो पनि हेर्छु। दिउँसोतिर छोरासँग लुँडो खेल्छु। साँझ ६ बजेतिर एक घण्टा सपरिवार घरको छतमा गएर बस्ने गर्छाैं', उनले समय कटाउने मेसो सुनाइन्।
कवि तथा समालोचक विन्दु शर्मा लकडाउनका कारण घरको काममा व्यस्तता बढेको बताउँछिन्। पहिले पढ्दापढ्दै छोडेका किताब पढ्दै र रामाइला सिनेमा हेर्दै दिन बिताइरहेकी छिन् उनले। आफन्तसँग भिडियो सम्पर्क हुँदैछ।
खुल्ला दिनमा औपचारिक काममा धेरै समय बितेको थियो, अहिले क्याम्पस, कार्यक्रम, सभा आदिका बाहिरी कामबाट शरीरले आराम पाएको अनुभव गरेकी छन् उनले। खानेकुरामा खासै रुचि नभएकाले त्यस्तो अभावको अनुभव भएको छैन उनलाई।
'लेखनमा खासै नयाँ केही भएको छैन। केही कविताका खेस्रा तयार गरेकी छु। मूलतः पढाइतिर तानिएकी छु। विश्वका कथाका अनुवाद, आत्मकथा, नियात्रा र समालोचनाको अध्ययनमा मन गएको छ। इजाडोरा डङ्कनको 'इजाडोरा की प्रेमकथा' को पढाइ मेरो विशेष उपलब्धि हो। स्त्री विमर्शका निम्ति यसले एउटा नवीन सोच मनमा खेलाइरहेको छ', उनले भनिन्।
समालोचक नेत्र एटमलाई लामो लकडाउनले आफ्नो जीवनलाई सिंहावलोकन गर्ने, आफंैतिर फर्किने र चल्तीको सोच बदल्ने पर्याप्त समय दिएको छ। नभए विपश्यना ध्यानमा गएर भए पनि भागदौडको यो चेन ब्रेक गर्नुपथ्र्याे। 'यो संकटको समय त हो तर शोकको घडी होइन। रोगप्रतिको ज्ञान बढाउने र आतंकित नभई सचेत र आत्मअनुशासित बन्ने बेलाका रूपमा मैले यसलाई लिएको छु', उनले भने, 'त्यसैले नकारात्मक समाचार र मेडिया पर्सनका एक्स्ट्राअर्डिनरी आवाजले मलाई आकर्षित गर्दैन। यो एकान्तवास मेरा निम्ति प्रकृतिसित एकाकार हुने अवसर बनेको छ। वासन्ती वृक्ष, पवन र पक्षीको सौन्दर्य नियाल्न सुक्ष्म दृष्टि र सुन्दर समय पाइएको छ।'