कोरोना आशंका गरिएका ६० वर्षीय पुरुषको रिपोट 'नेगेटिभ'
जाजरकोट : कोरोनाकोजस्तै लक्ष्यण देखिएका जाजरकोटका एक ६० वर्षीय पुरुषको कोरोना परीक्षण नेगेटिभ देखिएको छ । होम क्वारेन्टाइनमा रहेका छेडागाड नगरपालिका ४ का एक ६० वर्षीय पुरुषलाई १०२ दशमलब ५ डिग्री तापक्रमको ज्वरो र खोकी लागेपछि जिल्ला अस्पतालबाट गएको टोलीले 'द्रुत परीक्षण' रिपोर्ट नेगेटिभ आएको हो । ज्वरो आएपछि कोरोनाको आशंकामा उनी र उनको घरपरिवार चिन्तामा थियो।
बाँकेको नेपालगञ्जमा रहेको एक होटलमा काम गर्दै आएकी उनकी छोरी गत चैत ९ गते घर फर्किएकी थिइन्। उनको सबै परिवारका सदस्य होम क्वारेन्टाइनमा बसेका थिए । ती पुरुष कतै नगएको भएपनि होम क्वारेन्टाइनमै ज्वरो र खोकीको समस्या देखिएपछि र्यापिड टेष्ट गरिएको प्रमुख प्रशासकीय अधिकृत झलक केसीले बताए ।
उनको थप परीक्षणका लागि स्वाब संकलन गरेर सुर्खेत पठाइनेछ । तीन दिनदेखि जाजरकोटका विभिन्न गाउँ गाउँमा कोरोनाको द्रुत परीक्षण थालिएको छ ।