जाजरकोट बारेकोटका ५५ जनाको कोरोना रिपोर्ट 'नेगेटिभ'
जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिकामा गरिएको द्रुत परीक्षणबाट ५५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भारत , खाडी मुलुकबाट हालै जिल्ला भित्रिएकालाई उनीहरुकै घरमा गएर द्रुत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जाजरकोट अस्पतालका डाक्टर अमिन शाहले बताए ।
'विदेशबाट आएका र संकास्पद ५५ जनाको परीक्षण गर्दा सबैको नेगेटिभ देखियो । 'यो खुसीको कुरा हो,' डा. शाहले भने, 'किट थोरै भएकोले धेरैको परीक्षण गर्न सकिएन । जति गरियो सवै नेगेटिभ देखियो ।'
कर्णाली प्रदेश सरकारको सहयोग र जाजरकोटका सातवटै स्थानीय तहको समन्वयमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटले र्यापिड टेष्ट किडमार्फत कोरोनाको संक्रमण भए नभएको पत्ता लगाउन खोज सुरु गरेको छ । र्यापिड टेष्टमा कोरोना पोजिटिभ देखिए थप परिक्षणका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गरिने छ ।
परीक्षणका लागि प्रदेश सरकारले तीन सय र्यापिड टेष्ट किड पठाएको छ । सात स्थानिय तह रहेको जाजरकोटमा प्रति पालिका बढीमा ६० किट लिएर स्वास्थ्यकर्मीको टोली संकास्पद खोज्दै गाँउ पुगेका छन् ।
लकडाउनको समयमा बाहिरबाट आएका र बाहिरी मानिसको सम्पर्कपछि क्वारेन्टाइनमा बसेकाको स्वास्थ्यकर्मीले होम क्वारेन्टाइनमै पुगेर स्वास्थ्य परीक्षण गरिएको डा. शाहले बताए ।
परीक्षणको काम सबै स्थानीयका क्वारेन्टाइन र होम क्वारेन्टाइनमै भइरहेकोस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । आरडिटी किट थोरै भएकोले थप परिक्षणका लागी माग गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टिकाराम जैसीले बताए । आरडिटी गर्दा र्यापिड टेस्ट नेगेटिभ रिपोर्ट देखिएका व्यक्तिलाई घर पठाइने र पोजेटिभ देखिएकालाई क्वारेन्टाइनमै राखेर थप परीक्षण गरिनेछ ।