यार्सा गुम्बा खोज्न प्रतिबन्ध
जोमसोम : हिमाली जिल्ला मुस्ताङका लेकमा चालु वर्ष यार्सा गुम्बा टिप्न रोक लगाइएको छ। प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालयको अध्यक्षता बिहीबार बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले यार्सा गुम्बा टिप्न रोक लगाउने निर्णय गरेको हो।
जिल्लाको वारागुङ मुक्तिक्षेत्र ,घरपझोङ र थासाङ गाउँपालिकाका विभिन्न लेकमा वैशाखादेखि असार मसान्तसम्म यार्सा गुम्बा टिप्ने सुरु हुन्छ।
यार्सा संकलन गर्नेकार्य फुकुवा हुँदा जिल्ला बाहिरका मानिसको आउजाउ बढ्ने भएकाले तत्कालका लागि यार्सा टिप्न निषेध गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिने जोखिम रहेको जनाउदै विपत व्यवस्थापन समितिले यार्सा टिप्न प्रतिबन्ध लगाएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ।
हिमाली तथा उच्चपहाडी जिल्लाका उच्चलेकमा यार्सा गुम्बा पाइने गर्छ। मुस्ताङमा हरेक वर्ष यार्सा गुम्बा खोज्न रोल्पा, रुकुम, गोर्खा, धादिङ, बाग्लुङ र म्याग्दी जिल्लाका मानिस आउने गर्छन्।